: युक्रेनले आफ्नो सेनाले प्रयोग गर्दै आएको अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको सैन्य संस्करण ‘स्टारसिल्ड’ मा पुनः व्यवस्थित अवरोध भइरहेको जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा आएको अवरोधका कारण रुसी जेट इन्जिनयुक्त ड्रोनलाई रोक्न युक्रेनी सेनालाई कठिनाइ भइरहेको बताएका छन् । उनका अनुसार पछिल्ला केही दिनदेखि जारी अवरोधले रुसी सेनालाई युक्रेनी क्षेत्रमा थप आक्रमण गर्न सहज बनाएको छ ।
आयरल्यान्डको डब्लिनमा युरोपेली नेताहरूसँगको भेटका क्रममा जेलेन्स्कीले अमेरिकी पक्षसँग यस विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् । उनले युक्रेनी भूभागलाई युक्रेनकै नभएको जस्तो व्यवहार गर्ने निर्णय अमेरिकाबाट भइरहेको भए त्यसले आगामी परिस्थितिबारे संकेत गर्ने टिप्पणीसमेत गरे ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र स्टिभ विटकफले बिहीबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अबुधाबीमा भएको पछिल्लो वार्ता सकिएको भोलिपल्ट उनीहरू पुटिनसँग छलफलमा जुटेका हुन् ।
भेटका क्रममा पुटिनले रुसी नियन्त्रणमा रहेको खेरसोन क्षेत्रको ओलेश्की सहरमा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहयोग पुगेको युद्धविराममा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको भूमिकाप्रति आभार व्यक्त गरेका थिए । उनले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रस्थित विवादित कोस्त्यान्तिनिभ्का सहरमा पनि पाँचदिने युद्धविराम प्रस्ताव गरेका छन् ।
तर, युक्रेनले उक्त प्रस्तावप्रति आशंका व्यक्त गरेको छ । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार दिमित्रो लिटभिनले रुसले यसअघि ओलेश्कीमा मानवीय अभियानको आवरणमा सैन्य उपकरण र सैनिक परिचालन गरेको भन्दै कोस्त्यान्तिनिभ्काको प्रस्तावबारे थप स्पष्टता आवश्यक रहेको बताएका छन् ।
युक्रेन युद्ध सुरु भएको करिब पाँच वर्ष पुग्न लाग्दा पनि रुसले युक्रेनी भूभागमाथिको आफ्नो दाबी छाडेको छैन । पुटिनले युक्रेनमा विदेशी सैनिकको उपस्थिति रुसका लागि अस्वीकार्य रहेको दोहोर्याएका छन् ।
यसैबीच, अमेरिकी विशेष दूत कुश्नरले आगामी वार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराउने विषयमा पुटिनसँग छलफल गर्ने बताएका छन् । उनले युरोपले वार्तामा आफ्नो प्रतिनिधित्व गर्न एक जना साझा व्यक्ति चयन गर्नुपर्ने सुझावसमेत दिएका छन् ।
अबुधाबीमा भएको वार्ताको नेतृत्व अमेरिकाले गरेको थियो भने त्यसमा रुस र युक्रेनका प्रतिनिधि मात्रै सहभागी थिए । रुसी प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्कीले सबै पक्ष शान्ति स्थापनाको दिशामा अघि बढेको दाबी गर्दै अब धेरै कुरा युक्रेन, अमेरिका र युरोपको भूमिकामा निर्भर रहने बताएका छन् ।