मुख्य समाचार
नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड
नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड

। भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्र सञ्चालन हुँदा व्यवसायी र स्थानीय नागरिक मर्कामा परेको बताएका थिए।

उनीहरूले नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट पर्याप्त कूटनीतिक चासो नदेखिएको गुनासो गर्दै तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिएका हुन्।


अन्तरक्रियामा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद् डा. रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमा भेटवार्ता गरेर फर्किएको जानकारी गराएका थिए।

नेकपाका नेता सापकोटाले चिनियाँ नेतृत्वसँगको छलफलमा नाका पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा उठाइएको बताए।

चिनियाँ पक्षले यस विषयलाइ गम्भीरतापूर्वक लिएर तातोपानी नाका पूर्ण रूपमा सुचारु गर्ने विषयमा सकारात्मक रहेको जानकारी दिएको उनको भनाइ थियो। चीनले स‌भावित बाढी र हिमताल विस्फोटको सुरक्षा जोखिमका साथै नाका नजिकैको ‘इको पहिरो’ का कारण पटक–पटक सडक अवरुद्ध हुने समस्याप्रति नेपालको धारणा समेतमा चासो व्यक्त गर्ने गरेको छ।

छलफलका क्रममा भोटेकोशी बाढीपछि सीमा क्षेत्रका बस्ती र पूर्वाधारहरू जोखिमयुक्त छन् भन्ने सन्देश प्रवाह भएकाले त्यसलाई उचित समाधान खोज्दै विपद् व्यवस्थापन र भौतिक पूर्वाधार सुधारमा ठोस काम गर्नुपर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहायत्री पौडेलले प्रदेशभित्रका हिमनदीबाट मुहान भई बग्ने नदी किनारका बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकारले छिट्टै अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गर्न लागेको जानकारी गराए।

भोटेकोशी बाढीले निम्त्याएको जस्तो विपत्ति भविष्यमा नदोहोरियोस् र नदी किनारका बस्तीका बासिन्दा त्रासैत्रासमा बाँच्नु नपरोस् भनेर प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको उनको भनाइ थियो।

नेपाल–चीन मामिलाका विज्ञ समेत रहेका परराष्ट्रविद डा. सापकोटाले तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि उच्चस्तरीय कूटनीतिक पहलका साथ दुई देशबीच आपसी विश्वास बढाउन आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव ...
। ‘रोनाल्डो’को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको विद्युतीय तार चपाउँदा ४५ वर्षका चर्चित भाले हात्ती रोनाल्डोको मृत्यु भएको थियो । रोनाल्डोको मृत्युपछि उसको ठाँउ कसले लिने भनेर प्रजनन केन्द्रमा ...
: सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२,देउराली हुत्तिखिममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए । घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोस्टमार्टमका लागि ...
। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी ...
: छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग सोमबार (कात्तिक ३० गते)खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए। महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सार्वजनिक ...