: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्कणको लिग चरणको २४ औं खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ प्रवेश गरेको हो।
लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने दोस्रो टोली बन्यो। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै जोड्न सक्यो। काठमाडौं गोर्खाजको लागि रासिद खानले सर्वाधिक ३५ रन बनाए। उनले ३१ बलमा ५ चौका प्रहार गरेका हुन्। काठमाडौं गोर्खाजका लागि ओपनर ब्याटर साम ह्याज्लेटले ११ रन बनाउँदा सन्तोष यादवले १० रन बनाए।
भिम सार्की, सहान जयसुरिया डकआउट हुँदै पेभेलियन फर्किदा दुसान हेमन्थाले २१ रन बनाए। करण केसी ८ रनमा क्याच आउट हुँदा मध्यम लक्ष्य पछ्याएको काठमाडौंले दोस्रो हार बेहोरेको हो। सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ अनिल खरेलले २ विकेट लिँदा स्कट केगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट लिए।
त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले १६.४ ओभरमा जहानदाद खानको बलमा ५४ रन बनाउँदा क्याच मिसको रुपमा जीवनदान पाए। उनको क्याच काठमाडौंका कप्तान करण केसीले छुटाए।
पावरप्लेमा धरापमा परेको ब्याटिङलाई दिपेन्द्र र आरिफको पाँचौं विकेटको लागि गरेको ५४ रनको साझेदारीले टिमलाई रिदम दियो। दिपेन्द्र सिंह ऐरीले छैटौं विकेटको लागि पनि ५४ रनको साझेदारी बनाए। सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा आज ओपनिङमा विनोद भण्डारीको जोडीकोे रुपमा आएका स्कट कुगेलेइनले एउटा छक्का हानेर क्याच भए।
दोस्रो विकेटको रुपमा वान डाउन आएका ब्रान्डन म्याकमुलेन डकआउट भए। चौथो क्रममा आएका इशान पनि डक भए। चौथो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारी १ रन बनाएर एलबीडब्ल्यूको शिकार भए। शिर्ष क्रमका ४ ब्याटर सस्तैमा पेभेलियन फर्किदा आरिफ शेखले दिपेन्द्रको साथमा साझेदारी बनाएका थिए। आरिफ शेखले १६ रन बनाएर रनआउट भए। थारिन्दु रत्नायके २६ र फाबियन एलन २ रनमा अविजित रहे।
काठमाडौं गोर्खाजको लागि बलिङतर्फ जहानदाद खानले ३ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए। काठमाडौैं गोर्खाजले लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ।