: छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ।
छठ पर्वको मुख्य दिन नजिकिँदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगायतका स्थानमा किनमेल गर्नेहरूको घुइँचो लागेको हो। छठका लागि विशेष रूपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भए पनि उखु लगायत अन्य फलफूल भने भारत लगायतका देशहरूबाट ल्याइने गरिएको छ।
बाँसका ढाकी, कोनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यिनको मूल्य पनि बढेको उपभोक्ताहरूले जनाएका छन्। छठ पर्वमा बाँसका कोनिया र ढाकीमा पूजा सामग्री सजाएर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
यस वर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदै छ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।
विशेषगरी तराई–मधेसमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि भव्यताका साथ मनाइने गरिएको छ।