। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।
परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षणसमेत सञ्चालन गरिने परिषद्ले जनाएको छ।
छनोट तालिकाअनुसार बास्केटबल (महिला तथा पुरुष), शारीरिक सुगठन र पौडीको छनोट कात्तिक २७ गते हुनेछ। जुडोको कात्तिक २८ गते तथा सेपाकताक्रो र सुटिङको कात्तिक २९ गते छनोट गरिने छ।
त्यस्तै, जिम्न्यास्टिक र ई-स्पोर्ट्सको कात्तिक ३० गते तथा साइक्लिङ र खोखो (महिला तथा पुरुष) को मंसिर १ गते छनोट हुनेछ। कबड्डी, आर्चरी, मार्सल आर्ट्स र कुस्तीको छनोट मंसिर ४ गतेका लागि तोकिएको छ।
सुर्खेतका विभिन्न खेलस्थलमा छनोट प्रतियोगिता
परिषद्ले सार्वजनिक गरेको तालिकाअनुसार जिम्न्यास्टिकको छनोट रंगशालामा, कबड्डीको कबड्डी हल सुर्खेतमा र बास्केटबलको मुख्य रंगशालास्थित बास्केटबल कोर्टमा हुनेछ।
आर्चरीको छनोट राजदल सैनिक खेल मैदान, मार्सल आर्ट्स र कुस्तीको रंगशाला, साइक्लिङको काँक्रेविहार तथा ई-स्पोर्ट्सको होटल सिद्धामा सञ्चालन हुनेछ। सेपाकताक्रो र शारीरिक सुगठनको छनोट सुर्खेतमा तथा जुडोको रंगशाला परिसरमा हुनेछ।
त्यस्तै, पौडीको छनोट रंगशालास्थित पौडी पोखरी, सुटिङको नेपालगञ्ज र खोखोको छनोट नगरपालिकाको खुला मैदानमा सञ्चालन गरिने परिषद्ले जनाएको छ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले निर्धारित तालिकाअनुसार छनोट प्रतियोगिता सञ्चालन गर्न सम्बन्धित खेल संघ तथा महासंघलाई निर्देशन दिएको बताए।
३१ खेलका खेलाडी बन्द प्रशिक्षणमा
परिषद्ले छनोट प्रतियोगितासँगै राष्ट्रिय खेलकुदका लागि खेलाडीको तयारीलाई तिव्रता दिन ३१ खेलको बन्द प्रशिक्षण तालिका पनि सार्वजनिक गरेको छ।
बन्द प्रशिक्षणमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल र स्क्वासलगायत खेल समेटिएका छन्।
त्यस्तै, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स, सेपाकताक्रो, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, सुटिङ, कुस्ती, खोखो र आईटीएफ तेक्वान्दोका खेलाडी पनि बन्द प्रशिक्षणमा रहने छन्।
सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्म प्रशिक्षणस्थल
बन्द प्रशिक्षणका लागि सुर्खेतको मुख्य रंगशाला, चिसापानी खेल मैदान, विभिन्न क्रिकेट मैदान, जिल्ला खेलकुद विकास समितिका खेल मैदान, रंगशालास्थित कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल र मिनी कभर्ड हल तोकिएका छन्।
त्यस्तै, रग्बी मैदान, काँक्रेविहार, होटल सिद्धार्थ, रंगशाला परिसर, पौडी पोखरी, नेपालगञ्ज, सल्यानको श्रीनगरस्थित कभर्ड हल र दैलेखमा समेत प्रशिक्षण सञ्चालन गरिने तालिकामा उल्लेख छ।
कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन मंसिर १६ गते र समापन मंसिर २७ गते गर्ने तयारी छ।
प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउन परिषद्ले छनोट प्रतियोगिता र बन्द प्रशिक्षणका कार्यक्रम अघि बढाएको हो। सदस्यसचिव रविन्द्र चन्दले सम्बन्धित खेल संघ तथा महासंघलाई तोकिएको समय र स्थानमा खेलाडी छनोट तथा बन्द प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिएका छन्।