। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो ।
ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो पैसा र हर्मुज जलघाँटीमाथि नियन्त्रण प्राप्त गरिसकेको बताए। तर, आवश्यक परे इरानमाथि सैन्य आक्रमण पुनः सुरु गर्न आफू तयार रहेको उनले स्पष्ट पारेका छन्।
युद्ध अन्त्यका लागि वार्ताको नेतृत्व गर्नुभएका भान्सले निर्वाचनमा रिपब्लिकनहरूको पराजयको एउटा कारण इरान युद्ध भएको टिप्पणी गरेका थिए। यसैबीच, इरानका मुख्य वार्ताकार तथा संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गरेका छन्। अमेरिकाले भने यसबारे स्पष्ट प्रतिक्रिया दिएको छैन ।
उता, हर्मुज जलघाँटी आसपास तेल ट्याङ्करमाथि आक्रमणका घटना भइरहेका छन् । बेलायती सेनाका अनुसार पछिल्ला दिनमा कम्तीमा दुई ट्याङ्कर प्रक्षेप्य आक्रमणमा परेका छन् । यसले खाडी क्षेत्रको समुद्री सुरक्षा र ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ ।