: चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार बिहान ९बजेतिर फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा जिल्ला चितवन,भरतपुर महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले ०९:५४ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा थप दुईजना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् । कार र चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।