: तराई-मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई धार्मिक आस्था र निष्ठापूर्वक पूजाआजा गरिँदैछ। मुख्य पूजाका लागि पायक पर्ने जलाशय र नदी किनारमा विशेष रूपमा तयार पारिएका घाटहरूमा अस्ताउँदो सुर्यलाई अर्घ्य दिई मुख्य पूजा गरिदैछ ।
गएराति 'खरना' विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर उपवास बसी साँझको समयमा घरमा तयार पारिएका ठेकुवा, भुसवा, मिष्ठान्न लगायतका पूजासामग्रीसहित मुख्य पूजामा सहभागी हुँदैछन्। यसअघि नै प्रसादका रूपमा प्रयोग हुने उखु, केराको घिरौंला, नरिवललगायतका पूजासामग्रीको बन्दोबस्त गरिसकेका व्रतालुहरू अहिले घाटतर्फ जाने तयारीमा जुटेका छन्।
साँझको समयमा कुनै पनि किसिमको भेदभावबिना एकसाथ भेला भई अस्ताउँदो सूर्यलाई छठमाताको मुख्य पूजासहित अर्घ्य अर्पण गर्नेछन्। पर्वको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो यो विधिवत रूपमा सम्पन्न हुनेछ।
यता, पायक पर्ने जलाशयहरूमा निर्माण गरिएका छठघाटहरूलाई आकर्षक र चिटिक्क पार्न स्थानीय युवा, नागरिक समाज, स्थानीय जनप्रतिनिधि तथा विभिन्न युवा क्लबहरू सक्रिय रूपमा जुटेका छन्। विभिन्न निकायको आर्थिक सहयोग र चन्दा सङ्कलनबाट जुटाइएको रकम घाट निर्माण तथा सरसफाइमा खर्च गरिएको छ।
छठ पर्व मधेसको सबैभन्दा ठूलो तथा आस्था र निष्ठापूर्वक मनाइने पर्व हो। यसको महिमा अपरम्पार रहेको संस्कृतिविद्हरूले बताएका छन्।