मुख्य समाचार
नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने
नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

: नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ।

शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै भारतीय रेल मन्त्रालयले दुई देशबीचको सीमापार सम्पर्क सञ्जाल, धार्मिक पर्यटन र द्विपक्षीय मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको जनाएको छ। रामायणकालीन परम्परा र ऐतिहासिक आस्थासँग गहिरो रूपमा जोडिएका दुई प्रमुख धार्मिक स्थलहरू—माता सीताको जन्मभूमि जनकपुरधाम र प्रभु श्रीरामको जन्मभूमि अयोध्यालाई यस रेल सेवाले प्रत्यक्ष रूपमा जोड्नेछ। मन्त्रालयका अनुसार यो पहलले दुवै देशका तीर्थयात्री तथा पर्यटकहरूलाई यी महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक केन्द्रहरूको भ्रमण गर्न अझ सहज बनाउनेछ भने साझा सभ्यता र सांस्कृतिक विरासतलाई थप मजबुत पार्नेछ।

सञ्चालन तालिका र रुट

कुल करिब ६ सय ४ किलोमिटर दूरी तय गर्ने यो साप्ताहिक रेल सेवा जनकपुरधाम र अयोध्या क्यान्टोनमेन्ट (अयोध्या क्यान्ट) स्टेशनबीच सञ्चालन हुनेछ। भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा बजारहरू हुँदै गुड्ने यस रेलको व्यावसायिक बिसौनी (स्टपेज) जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रहनेछ। तालिकाअनुसार यो रेल हप्ताको एक दिन सञ्चालन हुनेछ। जसअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ।
पर्यटन, व्यापार र क्षेत्रीय विकासमा टेवा
यस नयाँ रेल सेवाको सुरुवातसँगै सीमापार यात्रा गर्ने तीर्थयात्री, पर्यटक तथा सर्वसाधारण यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। विशेषगरी जनकपुर र अयोध्याबीचको धार्मिक यात्रालाई सहज बनाउनुका साथै ‘रामायण सर्किटसँग सम्बन्धित पर्यटन प्रवर्द्धनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यसका अतिरिक्त शिक्षा, व्यापार–व्यवसाय तथा पारिवारिक कामकाजका लागि आवतजावत गर्ने यात्रुहरूलाई समेत यातायातको भरपर्दो विकल्प उपलब्ध हुनेछ।

रेल सञ्जालको विस्तारले मार्गमा पर्ने स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने भारतीय रेल मन्त्रालयको ठहर छ। यसबाट पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्र, स्थानीय व्यापारी र परम्परागत हस्तकला उद्यमीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। नेपाल र बिहारका सीमावर्ती क्षेत्रका बासिन्दाहरूका लागि यस सेवाले यातायातको थप सुविधा प्रदान गर्नुका साथै आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।

नेपाल–भारत मैत्री सम्बन्धमा नयाँ आयाम
नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहिआएको छ। धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको जनस्तरको सम्बन्धले दुई देशको साझेदारीलाई अभिन्न बनाएको छ। रेलमार्गमार्फत दुई देशका समुदायलाई अझ नजिक ल्याएर यस नयाँ रेल सेवाले द्विपक्षीय सहयोग र सहकार्यमा नयाँ आयाम थप्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ। यस पहलमार्फत भारतीय रेलवेले यात्रुवाहक सञ्जाल विस्तार गर्दै क्षेत्रीय पर्यटन, आर्थिक गतिविधि र दुई छिमेकी मुलुकबीचको चिरस्थायी मित्रतालाई निरन्तर समर्थन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे । उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य राजनीतिक दलको ...
: नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति कायम गर्न युरोपको सुरक्षा संरचनामै परिवर्तन हुनुपर्ने माग अघि सारेका छन् । अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जेरेड कुशनरसँगको वार्तापछि क्रेमलिनले दीर्घकालीन शान्ति र अविभाज्य सुरक्षा संरचना आवश्यक रहेको जनाएको छ । रुसले युक्रेन र जर्जियालाई नेटोको सदस्य बन्न रोक्नुपर्ने तथा पूर्वी र मध्य युरोपमा नेटोको सैन्य संरचना घटाउनुपर्ने पुरानै ...
: तराई-मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई धार्मिक आस्था र निष्ठापूर्वक पूजाआजा गरिँदैछ। मुख्य पूजाका लागि पायक पर्ने जलाशय र नदी किनारमा विशेष रूपमा तयार पारिएका घाटहरूमा अस्ताउँदो सुर्यलाई अर्घ्य दिई मुख्य पूजा गरिदैछ । गएराति 'खरना' विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर उपवास बसी साँझको समयमा घरमा तयार ...
: गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी लेदोसहितको बाढीमा परी बेपत्ता भएका नागरिकलाई सरकारले औपचारिक रूपमा ‘मृतक घोषणा’ गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। बाढी गएको महिनौंसम्म निरन्तर खोजी गर्दा पनि शव फेला पर्न नसकेका कारण पीडित परिवारहरूले कानुुनी, प्रशासनिक र आर्थिक जटिलता झेल्दै आएका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ...