: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतका सरकार र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे ।
उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य राजनीतिक दलको नेतृत्व चयन, पार्टी विभाजन र नेताहरूमाथि विभिन्न आरोप लगाउने विषयमा समेत चासो देखाइरहेको आरोप लगाए । सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई कमजोर बनाउने गतिविधिमा सत्तारूढ दल लागेको उनको दाबी थियो ।
‘रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुपर्यो ?’ भन्दै पौडेलले सरकारको यस्तो गतिविधिले मुलुकमा राजनीतिक गुटबन्दीको नयाँ अभ्यास सुरु गर्न खोजिएको आभास भएको बताए ।
विगतमा राज्यसत्ता कब्जा गरेर शासन गर्ने प्रयास भएजस्तै अहिले पनि त्यही प्रकृतिका गतिविधि भइरहेको उनको आरोप थियो। उनले पुराना दलका नेताहरूको कार्यशैली र वर्तमान सरकारको व्यवहारमा खासै अन्तर नरहेको बताए ।
रास्वपा नेतृत्वको सरकारसँग आलोचना र प्रश्नको सामना गर्ने क्षमता नरहेको टिप्पणी गर्दै पौडेलले सरकारका गतिविधिले नेपालको लोकतान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न गर्न सक्ने चेतावनी दिए । जनताको अपेक्षाविपरीत सरकार अघि बढिरहेको उनको भनाइ थियो ।
दुई तिहाइ बहुमत प्राप्त सरकारलाई अझै के चाहिएको हो भन्दै उनले प्रश्नसमेत गरे । कांग्रेस प्रश्न गर्ने पार्टी भएकाले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन नदिने उद्देश्यले विभिन्न प्रपञ्च रचिएको उनको आरोप थियो ।
विधिको शासन र कानुनी राज्य कायम रहेसम्म निर्दोष व्यक्तिलाई दोषी साबित गर्न नसकिने उल्लेख गर्दै पौडेलले सरकारले कानुनी प्रक्रियाभन्दा बाहिर गएर कसैलाई निशाना बनाउन नमिल्ने बताए ।