: इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार अक्सफोर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा आफूले बेलायती नागरिकता प्राप्त गरेको खुलासा गरेका हुन् । उनले गत सेप्टेम्बर १५ मै नागरिकता पाएको बताएका छन् ।
मोदीले बेलायती नागरिक बन्नुलाई सम्मान र जिम्मेवारीको विषय भन्दै गर्व, कृतज्ञता र आत्मीयताका साथ स्वीकार गरेको उल्लेख गरेका छन् । उनले यस अवसरमा आफ्नो परिवार, साथीभाइ र अक्सफोर्ड युनियनप्रति आभारसमेत व्यक्त गरेका छन् ।
आईपीएलसँग जोडिएका आर्थिक अनियमितता, मनी लाउन्डरिङ तथा विदेशी मुद्रा विनिमयसम्बन्धी आरोपपछि मोदी करिब १६ वर्षअघि भारत छाडेर विदेश गएका थिए । उनले भारतीय पासपोर्ट त्यागेर प्रशान्त महासागरको टापु राष्ट्र भानुआटुको नागरिकता लिएका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०१३ मा उनलाई आजीवन प्रतिबन्ध लगाएको थियो । यद्यपि, यसै वर्ष भारतको अपिलीय न्यायाधिकरणले सम्पत्ति जफतसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालयका अधिकांश निष्कर्ष र दण्ड खारेज गरेको समाचारमा उल्लेख छ ।
बेलायती नागरिकता प्राप्त गरेसँगै मोदीको भारत फिर्तीको विषय फेरि चर्चामा आएको छ ।