: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोकेर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए। 'एमाले सिद्धियो' भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनमार्फत देखाउनुपर्ने उनको भनाइ छ।
उनले देशको सबैभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली, कर्मठ र उज्यालो भविष्य भएको पार्टी एमालेमात्रै भएको उल्लेख गरे। अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न तर्फबाट संयुक्त आक्रमण गरिएको र यसमा सरकारको स्वेच्छाचारिता, अधिनायकवादी सोच तथा फासीवादतर्फको यात्रा स्पष्ट देखिएको आरोपसमेत लगाए।
राज्यका निकायहरूलाई राजनीतिक रूपमा प्रयोग गर्ने, समितिहरू गठन र छानबिनका नाममा अनावश्यक विवाद सिर्जना गर्ने तथा कतिपय पदहरूबाट हटाउने काम गरिएको ओलीले उल्लेख गरे। पार्टीको जिम्मेवारीमा बसेर भोट बदल्छु भन्नु बेइमानी भएकाले पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई तत्काल कारबाही गर्न उनले निर्देशन दिए।