— प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार १२ दिने चीन भ्रमणमा निस्किएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् ।
भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि लामिछानेले गर्ने तय भएको थियो । तर राजनीतिक तथा प्राविधिक कारणले भ्रमण स्थगित भएपछि पार्टीका महामन्त्री एवं लामिछानेका निकट सहयोगी विपिन आचार्यले टोलीको नेतृत्व गरेका छन् ।
चीनले नेपालमा बलियो जनमतसहित सरकार गठन गरेको सत्तारूढ दलसँग सम्बन्ध विस्तार गर्न खोजेको रूपमा यो भ्रमणलाई हेरिएको छ । भ्रमणमा जानुअघि प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेले चिनियाँ नेतृत्व तथा अधिकारीहरूसँगको भेटमा उठाउनुपर्ने विषयबारे सांसदहरूलाई जानकारी गराएका छन् । भ्रमणमा नेपाल–चीन सम्बन्ध, लगानीका सम्भावना र आर्थिक सहकार्यका विषय प्राथमिकतामा रहनेछन् ।
नोभेम्बर १५ देखि २६ सम्म हुने भ्रमणका क्रममा सांसदहरूले चीनका छेन्दु, हाङझाउ, यीउ र बेइजिङको भ्रमण गर्नेछन् । भ्रमण तालिकामा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसँग भेटघाट, प्रविधि कम्पनी, औद्योगिक पार्क, विश्वविद्यालय, लगानी आयोजना तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रको अवलोकन समेटिएको छ ।
टोलीले भ्रमणको पहिलो दिन नोभेम्बर १६ मा सिचुवान प्रान्तको छेन्दुमा उच्च प्रविधिमा आधारित उद्योग तथा औद्योगिक पार्कको अवलोकन गर्नेछ । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलका विज्ञहरूसँग छलफल र सिचुवान प्रान्तीय पार्टी कमिटीका सचिवसँग भेटघाट गर्ने कार्यक्रम छ ।
९ करोडभन्दा बढी जनसंख्या रहेको सिचुवानको कुल गार्हस्थ्य उत्पादन करिब १.१७ ट्रिलियन अमेरिकी डलर छ । यस प्रान्तसँग नेपालको नियमित सम्पर्क र सहकार्य रहँदै आएको छ ।
नोभेम्बर १७ मा टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेन्चुआन काउन्टीको भ्रमण गर्नेछ । त्यहाँ चीनले विपद्पछिको पुनर्निर्माणमा गरेका कामबारे जानकारी लिने कार्यक्रम छ । उक्त भूकम्पमा करिब ७० हजार जनाको मृत्यु भएको थियो भने १७ हजारभन्दा बढी बेपत्ता भएका थिए ।
नोभेम्बर १८ मा छेन्दुस्थित विशाल पान्डा प्रजनन तथा अनुसन्धान केन्द्रको अवलोकन गर्ने टोलीले सिचुवान विश्वविद्यालयका विपद्पछिको पुनर्निर्माण व्यवस्थापनसम्बन्धी विषयका प्राध्यापकहरूसँग पनि छलफल गर्नेछ ।
नोभेम्बर १९ मा टोली चच्याङ प्रान्तको राजधानी हाङझाउ पुग्नेछ । नोभेम्बर २० मा रोबोटिक्ससम्बन्धी कम्पनी, औद्योगिक पार्क र स्मार्ट उत्पादन केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ ।
नोभेम्बर २१ मा उच्च गतिको रेलमार्फत अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा परिचित यीउ पुग्ने सांसदहरूले त्यहाँको अन्तर्राष्ट्रिय व्यापार केन्द्रको भ्रमण गर्नेछन् । यीउ नगर पार्टी कमिटीका सचिवसँग भेटघाटका साथै ग्रामीण शासन प्रणाली र स्थानीय तहमा पार्टी संगठनको भूमिकाबारे जानकारी लिने कार्यक्रम पनि छ ।
नोभेम्बर २२ मा चच्याङ नर्मल विश्वविद्यालय पुगेर थिंक ट्यांक विकासबारे जानकारी लिने टोलीले कृषि, संस्कृति र पर्यटनको एकीकृत अभ्यास गरिरहेको कृषि फार्मको अवलोकन गर्नेछ । त्यसै दिन चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी लिपमोटरको पनि भ्रमण गर्ने तालिका छ ।
भ्रमणको महत्त्वपूर्ण कार्यक्रमका रूपमा नोभेम्बर २३ मा चच्याङ प्रान्तको चिन्ह्वामा नेपाल–चीन उद्यमी व्यापार सहकार्य सम्मेलन आयोजना हुनेछ । त्यसमा सांसदहरूले नगरका मेयर र २० भन्दा बढी स्थानीय उद्यमीसँग अन्तरक्रिया गर्नेछन् ।
टोलीले नेपाल–चीन लगानी सहकार्य परियोजनाका रूपमा उल्लेख गरिएको होङ्सी सिमेन्ट उद्योग र चिन्ह्वा अन्तर्राष्ट्रिय विद्यालयको पनि भ्रमण गर्नेछ । त्यसका साथै चिन्ह्वा नगर पार्टी कमिटीका सचिवसँग भेटघाट गर्ने कार्यक्रम छ ।
नोभेम्बर २४ मा टोली राजधानी बेइजिङ पुग्नेछ । त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्रीसहित वरिष्ठ नेताहरूसँग भेटघाट हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय भ्रमण र केन्द्रीय पार्टी स्कुलका विज्ञहरूसँग छलफल पनि भ्रमण तालिकामा छ ।
नोभेम्बर २५ मा पनि चिनियाँ पार्टीका नेता तथा विज्ञहरूसँग छलफल जारी रहनेछ । टोली नोभेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम छ ।
१२ दिने भ्रमणमा प्रविधि, औद्योगिक विकास, विपद्पछिको पुनर्निर्माण, ग्रामीण शासन प्रणाली र स्थानीय तहमा पार्टी संगठनको भूमिकालगायत विषय समेटिएका छन् । यसले रास्वपाका सांसदलाई चीनको विकास अभ्यासबारे प्रत्यक्ष जानकारी लिनुका साथै नेपाल र चीनबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने अवसर दिने भ्रमण तालिकामा उल्लेख छ ।