मुख्य समाचार
जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा
जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा

— जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा गरेको छ । सन् २००१ अगस्टमा स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना भएको ट्रस्टले दुई दशकभन्दा बढी समयदेखि आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बिरामीलाई मुटुसम्बन्धी उपचारमा सहयोग गर्दै आएको छ ।

ट्रस्टका अध्यक्ष श्रृजना राणाका अनुसार यस अवधिमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसँगको सहकार्यमा १० हजारभन्दा बढी मुटुको शल्यक्रियाका लागि आर्थिक सहयोग गरिएको छ । त्यस्तै, हृदयाघातका बिरामीको आकस्मिक उपचारमा प्रयोग हुने स्ट्रेप्टोकाइनेज औषधिका ६१२ भाइल विभिन्न अस्पताललाई उपलब्ध गराइएको छ ।

शनिबार काठमाडौंमा आयोजित २५औं वार्षिकोत्सव कार्यक्रममा ट्रस्टले स्थापनाकालदेखि सञ्चालन गरेका स्वास्थ्य सेवा, ग्रामीण स्वास्थ्य शिविर, जनचेतना र अस्पतालको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमबारे जानकारी दिएको थियो ।

ट्रस्टकी अध्यक्ष राणाका अनुसार स्वास्थ्य उपचारमा आर्थिक अवस्थाका कारण कसैले पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले संस्थाले विभिन्न अस्पताल र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको छ ।

ट्रस्टले मुटुको उपचारमा आवश्यक भल्भ, औषधि, रक्तचाप मापन गर्ने उपकरण, होल्टर मोनिटर, बेडसाइड मोनिटर, इलेक्ट्रोड तथा ह्विलचेयरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चार वर्षसम्म मुटुरोग विशेषज्ञ र एक वर्षसम्म शल्यचिकित्सकको व्यवस्थापनमा समेत सहयोग गरेको ट्रस्टले जनाएको छ ।

काठमाडौं बाहिरका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा मुटुरोगको परीक्षण र उपचारको पहुँच पुर्‍याउन ट्रस्टले सन् २००७ देखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ट्रस्टका अनुसार हालसम्म ५३ जिल्लामा मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सन् २००७ देखि २०१४ सम्म वार्षिक औसत चारवटा शिविर सञ्चालन हुँदै आएकोमा सन् २०१५ देखि २०२६ सम्म त्यसलाई बढाएर वार्षिक औसत आठवटा पुर्‍याइएको छ ।

मुगु, अछाम, डडेलधुरा, जाजरकोट, सल्यान, गोरखा, मुस्ताङ, सिरहा र मनाङलगायत जिल्लामा शिविर सञ्चालन गरिएका छन् । यस्ता शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श र आवश्यक बिरामीलाई विशेषज्ञ अस्पतालमा उपचारका लागि सिफारिस गर्ने गरिएको छ ।

विद्यालय तहबाटै मुटुरोगबारे सचेतना फैलाउने उद्देश्यले ट्रस्टले ४० वटासम्म सरकारी विद्यालयका ६ हजारभन्दा बढी विद्यार्थीलाई मुटु स्वास्थ्यसम्बन्धी शिक्षा तथा अभिमुखीकरण प्रदान गरेको जनाएको छ । त्यस्तै, महिलामा मुटुरोगसम्बन्धी सचेतना बढाउन सन् २०१४ देखि 'गो रेड फर वुमन' अभियान सञ्चालन गरिएको छ । विश्व मुटु दिवस तथा विभिन्न सामुदायिक कार्यक्रममार्फत पनि जनचेतना फैलाउने काम भइरहेको ट्रस्टले जनाएको छ ।

मुटुरोगका कारण आकस्मिक अवस्था सिर्जना हुँदा तत्काल प्राथमिक उपचार उपलब्ध गराउन ट्रस्टले सन् २०२५ देखि स्वास्थ्यकर्मी तथा समुदायका सदस्यलाई कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) र आधारभूत जीवनरक्षा (बीएलएस) तालिम सञ्चालन गर्दै आएको छ । वार्षिकोत्सवसम्बन्धी विवरणअनुसार हालसम्म नौवटा तालिम सत्र सञ्चालन गरिएका छन् ।

यसैगरी, सन् २०१५ को भूकम्पपछि राहत तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको ट्रस्टले कोभिड महामारीका बेला आइसोलेसन केन्द्र, स्वास्थ्य सामग्री र नेपालगन्जस्थित भेरी अस्पतालमा औद्योगिक अक्सिजन प्लान्ट स्थापनामा सहयोग गरेको थियो । महामारीका क्रममा निःशुल्क मनोसामाजिक परामर्श तथा आत्महत्या रोकथामसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

हालैका बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत ट्रस्टले योगदान गरेको जनाएको छ ।

ट्रस्टको स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमको एउटा महत्त्वपूर्ण आर्थिक आधार पोखरास्थित फिसटेल लजबाट प्राप्त हुने खुद नाफा हो । लजको खुद नाफा ट्रस्टका कार्यक्रम सञ्चालनमा समर्पित गरिँदै आएको छ । यसले बिरामीलाई आर्थिक सहयोग तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न निरन्तर स्रोत उपलब्ध गराउँदै आएको ट्रस्टले जनाएको छ ।

ट्रस्टले आगामी २५ वर्षमा मुटुरोगको उपचारसँगै रोकथामलाई प्राथमिकता दिने योजना अघि सारेको छ । समुदायस्तरमा स्वास्थ्य परीक्षण विस्तार गर्ने, विद्यालयमा मुटु स्वास्थ्य शिक्षा बढाउने, महिलाको मुटु स्वास्थ्यमा विशेष ध्यान दिने र प्रत्येक जिल्लामा आधारभूत जीवनरक्षा तालिम विस्तार गर्ने संस्थाको प्राथमिकता छ ।

त्यसैगरी, ठूला सहरबाहिर पनि मुटुरोगको परीक्षण तथा निदान सेवा विस्तार गर्ने र आर्थिक अवस्था वा बसोबास गर्ने स्थानका कारण कसैले पनि आवश्यक उपचारबाट वञ्चित हुन नपर्ने वातावरण बनाउने लक्ष्य ट्रस्टले लिएको छ ।

स्वर्गीय राजकुमारी हेलेन शाहले स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना गरेको ट्रस्टले अस्पताल, चिकित्सक, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था, दातृ निकाय र स्वयंसेवकसँगको सहकार्यमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार १२ दिने चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् । भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि ...
— क्षेत्रीय कारागार भीमफेदीका ५१ जना कैदीबन्दी छठ पर्व मनाउने तयारीमा जुटेका छन् । भीमफेदी कारागारमा कैदीबन्दीले छठ पर्व मनाउन लागेको यो पहिलो पटक हो । विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् । तीनवटा ब्लक रहेको उक्त कारागारमा ‘क’ ब्लकका ...
— चीन भ्रमणका क्रममा दुई देशको आपसी सम्बन्धका विषयमा मात्रै केन्द्रित हुन सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले आफ्ना सांसदलाई निर्देशन दिएका छन् । महामन्त्री विपिन आचार्यको नेतृत्वमा आइतबारदेखि १२ दिने चीन भ्रमणमा जान लागेका रास्वपाका २० सदस्यीय संसदीय प्रतिनिधिमण्डलसँग शनिबार छलफल गर्दै पार्टी सभापति लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र त्यहाँको विकासलगायत विषयमा अध्ययन गर्न ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले सिद्धियो भन्ने भाष्य चिर्नसमेत आन्दोलन र निर्वाचन दुवै मोर्चाबाट पार्टीको शक्ति प्रदर्शन गर्नुपर्ने ओलीले बताएका छन् । बागमती प्रदेश संगठन कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले सरकारका गतिविधिले मुलुकलाई असंवैधानिक बाटोतर्फ लगेको टिप्पणी गरे । उनले आन्दोलनका लागि तयार ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सूर्यदेव र छठी माताको आराधनाले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने ...