मुख्य समाचार
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने
जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने

। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान, संस्कृति र पुख्र्यौली थातथलोको संरक्षणका मुद्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

नेपाल आदिवासी जनजाति महासङ्घले कोप–३१ का सन्दर्भमा आज यहाँ आयोजना गरेको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र विपद्का कारण आदिवासी जनजाति समुदायको थातथलो, संस्कृति र परम्परागत जीवनशैलीमा परेको असरलाई जलवायु अनुकूलन तथा विकासका योजनामा समेट्नुपर्ने बताइन् ।

आदिवासी जनजाति समुदायको आन्दोलन र समावेशिताका लागि भएका सङ्घर्षको उपलब्धिस्वरूप आफू जिम्मेवारीमा पुगेको उल्लेख गर्दै उनले समुदायका मुद्दा उठाउन आफू प्रतिबद्ध रहेको बताइन् । अन्तर्राष्ट्रिय वार्ता तथा उच्चस्तरीय बैठकमा उठाउनुपर्ने विषय र सुझाव समयमै उपलब्ध गराउन आग्रह गर्दै उनले ती मुद्दालाई आफ्नो मन्तव्य र वार्तामा समेट्ने प्रतिबद्धता जनाइन् ।

छलफलमा सहभागी आदिवासी अभियन्ता तथा प्रतिनिधिहरूले जलवायु परिवर्तनबाट प्रभावित समुदायको अधिकार, संस्कृति, पुख्र्यौली भूमि र जीविकोपार्जनका सवाललाई कोप–३१ लगायत अन्तरराष्ट्रिय जलवायु वार्ता तथा निर्णय प्रक्रियामा प्राथमिकताका साथ समेट्न माग गरेका थिए ।


उनीहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गए पनि त्यसबाट बढी प्रभावित आदिवासी जनजाति समुदायका मुद्दा अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा उठ्न नसकेको बताए । हालैको रसुवा–भोटेकोशी विपद्बाट प्रभावित समुदायको अवस्था तथा उनीहरूको पुख्र्यौली थातथलो र सांस्कृतिक सम्पदाको संरक्षणलाई नेपालको जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्नेमा पनि उनीहरूले जोड दिए ।

छलफलमा वनमन्त्रीका सल्लाहकार अभिषेक श्रेष्ठले नेपाल र भुटानले संयुक्त रूपमा पर्वतीय क्षेत्रमा तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने विषय संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) को प्रक्रियामा अघि बढाएको जानकारी दिइन् ।

उक्त पहलमा पर्वतीय कार्य कार्यक्रम स्थापना, संयुक्त राष्ट्रसङ्घीय मञ्चमा उच्चस्तरीय राजनीतिक छलफललाई निरन्तरता, हिमाली क्षेत्रमा तापक्रम वृद्धिसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा त्यसको प्रभाव न्यूनीकरण र हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायलाई जलवायु न्याय सुनिश्चित गर्ने विषय समेटिएको उनले बताइन् ।

सहभागीहरूले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रका मुद्दा उठाउँदा त्यहाँका आदिवासी जनजाति, महिला, युवा तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई पनि एकीकृत रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले बताएको छ । २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं ...
। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, ...
। तुर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औं (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका ...
। धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ वर्षीय अशोक धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका छन् । शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् । लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । ...