मुख्य समाचार
आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले
आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले

। आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले तीव्र बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा दिनहुँ भेला तयारी बैठक चलिरहेको छ ।

वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलाको तयारीकै सन्दर्भमा आइतबार च्यासल पुगेकी थिइन् । उनले भेलाको संयोजन गरिरहेका नेता भानुभक्त ढकाल र केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी लगायत नेताहरूसँग तयारीबारे जानकारी लिइन् ।

शुक्रबार च्यासलमै भेलाको तयारीबारे बैठक बसेको थियो । महासचिव शंकर पोखरेललाई मुख्य अतिथि बनाएर बसेको बैठकमा राष्ट्रिय भेलाको तयारीबारे क्षेत्रगत ब्रिफिङ भयो ।

संयोजक ढकालले सभा हल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचार–प्रसार, स्वयंसेवक परिचालन लगायत काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।


भेलालाई व्यवस्थित बनाउन एमालेले प्रदेशअनुसार युवा नेताहरूलाई संयोजनको जिम्मेवारी दिइएको छ । कोशीमा सुनिता बराल, क्षितिज थेबे र मनोज ताम्ली, मधेशमा विशाल भट्टराई, नरेन्द्र न्यौपाने र समिमबाबु खान, बागमतीमा समिक बडाल, महाराज गुरुङ र रमेश आचार्यलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

राजधानी प्रदेशमा भोला पोखरेल, सञ्जिव धिताल र सुदर्शन सिवाकोटी, गण्डकीमा रश्मी आचार्य, विनिता काफ्ले र रामजी सापकोटा, लुम्बिनीमा धर्म गिरी, सुमन पुरी र संगम अर्यालले संयोजन गरिरहेका छन् । कर्णालीमा निरज आचार्य, नारायण घर्ती र विरेन्द्र रावल तथा सुदूरपश्चिमा गोविन्द गिरी, मोती विक र दीपक धामीलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

यी नेताहरूले स्थानीय तह, जिल्ला र प्रदेशका नेताहरुलाई भेलामा सहभागी गराउने कामको संयोजन गरिरहेका छन् । भेलामा सहभागी हुने नेताहरुलाई केन्द्रीय कार्यालय र संगठन विभागले सूचना दिएको थियो । सूचना पाइसकेकै नेताहरूसँग संवादको जिम्मेवारी युवा नेताहरूलाई दिइएको हो ।

नयाँ अभ्यास

स्थानीय जनप्रतिनिधि सहित पालिकादेखि केन्द्रसम्मका नेताहरूलाई सहभागी गराएर एमालेले यसपटक नयाँ अभ्यास गर्दैछ ।

केन्द्रदेखि पालिकासम्मका पार्टी नेता र जनप्रतिनिधि सहभागी हुने भेला यसअघि एमालेमा नभएको प्रचार विभाग प्रमुख निरज आचार्य बताउँछन् ।

‘एमालेमा यसपटक हामी नयाँ अभ्यास गर्दैछौं । जहाँ, केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरू एकैठाउँ जुट्नेछन् भने जनप्रतिनिधिहरू पनि सँगसँगै हुनेछौं,’ उनी भन्छन् ।

तीन हजार ४१४ जना सहभागी हुने भेलामा राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।

पार्टीका पालिका पदाधिकारी, जिल्ला पदाधिकारी, प्रदेश पदाधिकारी, जनसंगठनका नेताहरू र पार्टी केन्द्रीय कमिटीका नेताहरू भेलामा सहभागी हुनेछन् ।

केन्द्रीय सदस्य सुनिता बराल, भेलाको मुख्य उद्देश्य पार्टीपंक्तिमा जागरण ल्याउनु रहेको बताउँछिन् । ‘आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा जुट्नु भेलाको उद्देश्य हो,’ उनी भन्छिन्, ‘प्रतिनिधि सभामा जस्तो नतिजा हामीले बेहोर्नु परेको छ । त्यसको समीक्षा गर्छौं र आसन्न निर्वाचनको तयारीमा जुटेको सन्देश दिनेछौं ।’

गत २१ फागुनको निर्वाचनमा एमालेले सर्मनाक पराजय बेहोर्नु परेकाले पनि यो भेलालाई अर्थपूर्ण बनाउने तयारी नेताहरूले गरिरहेका छन् । कार्यकर्तामा रहेको निराशा हटाउन भेलाले काम गर्ने उनीहरूको बुझाइ छ ।

‘कुन तहको समस्या के हो भन्ने बुझ्न पनि यो भेला उपयोगी हुन सक्छ,’ केन्द्रीय सदस्य बराल भन्छिन्, ‘हामीले सरकारको नेतृत्व गर्दा गरेको राम्रा कामहरूको विवरण बुझ्न र बुझाउन पनि सहयोग पुग्छ ।’

शुक्रबार सम्पन्न भेला तयारी बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टी चुनावमा होमिएको एकीकृत सन्देश दिन भेला आयोजना गरिएको बताएका छन् । उनका अनुसार, भेलापछि एमाले पंक्ति चुनावी तयारीमा जुट्नेछन् ।

भेलालाई पाँच जना नेताले सम्बोधन गर्ने तयारी भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गरेर भेला सकिनेछ ।



अर्थात स्थानीय तहबाट आएका नेताहरूले भने आफ्नो कुरा राख्ने मौका पाउने छैनन् । शीर्ष नेताहरूको सम्बोधन सुनेर राष्ट्रिय कार्यकर्ता भेला सकिनेछ ।

चुनावी तयारीको वार्मअप भनेर गर्न लागिएको भव्य भेलामा छलफल नहुने, समीक्षा नहुने र नेताहरूको भाषण सुनेर फर्किने तालिकाप्रति थुप्रै नेताहरूको असहमति छ ।

‘पाँच जनाले भाषण गर्नु हुन्छ, त्यसैलाई पार्टीको नीति मानेर कार्यकर्ताहरू फर्कने स्थिति बन्ने देखिन्छ,’ एक नेता भन्छन्, ‘आजको राजनीतिक संकटबारे छलफल हुने देखिँदैन । सार्वजनिक रुपमा नेताहरूले जे भन्दै आउनु भएको छ, त्यसैलाई अनुमोदन गराउन भेला गरिँदैछ ।’

कम्तिमा यो भेलालाई केही दिन लम्ब्याएर भएपनि पार्टीको संकटबारे समीक्षा गर्नु आजको आवश्यकता रहेको उनी बताउँछन् ।

‘एमाले जुन संकटमा छ, त्यस्तो अवस्थामा जनतासँग जोडिएका कार्यकर्ताहरूको कुरा नेतृत्वले सुन्ने स्थिति बनाउनुपर्थ्यो,’ उनी भन्छन्, ‘तर केन्द्रका मुख्य नेताहरूको भाषण सुनाउनलाई भेला गरिन लागेको जस्तो देखिन्छ ।’

भेला लगत्तै जनप्रतिनिधिहरूको छुट्टै भेला पनि गर्ने तयारी भइरहेको प्रचार प्रमुख आचार्य बताउँछन् ।

जनप्रतिनिधिहरूको भेला सकिएको भोलिपल्ट, ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । अर्थात दुई महिनाभित्रै अर्को केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यो बैठकको एजेण्डा भने तय हुन बाँकी रहेको नेताहरू बताउँछन् । असोज पहिलो साता मात्र सम्पन्न केन्द्रीय कमिटी बैठकले ओलीको राजनीतिक प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । आइतबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाकै अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएकाे छ। ...
: प्रकृतिप्रति श्रद्धा, शुद्धता र सामाजिक सद्भावको अनुपम पर्व मानिने ‘छठ’ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म कठोर व्रत र निष्ठाका साथ मनाइने यस पर्वको मुख्य आकर्षणका रूपमा हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई विशेष पूजासहित अर्घ्य अर्पण गरिएको हो। चतुर्थी तिथिमा ‘नहाय–खाय’ विधिबाट सुरु भएको यस व्रतमा बर्तालुहरूले ...
: नोभेम्बर ९ देखि टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालबाट ५ जना मन्त्री सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोपमा सहभागिता जनाउने निर्णय सरकारले सार्वजनिक गरेको थियो। तर, अर्थमन्त्री स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता पनि कोपमा सहभागी भएका छन् । ...
। मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको नाम जोडिएका घटनाबारे नेपाल बार एसोसिएसनले गठन गरेको अध्ययन समिति काम अघि बढाउन नसक्ने अवस्थामा पुगेको छ । १६ कार्तिकमा बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले गठन गरेको पाँच सदस्यीय समितिमध्ये संयोजक सहित तीन जनाले आफू समितिमा बस्न नसक्ने लिखित जानकारी गराएका हुन् । संयुक्त ...