: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिका र अमेरिकी अर्बपति एलन मस्कसँग आग्रह गरेका छन् । उनले प्रतिबन्धका कारण रुसी आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको बताएका छन् ।
जेलेन्स्कीका अनुसार अमेरिकी सरकारको सहयोगमा युक्रेनले प्रयोग गरिरहेको सैन्य प्रयोजनको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारशिल्ड’ मा लगाइएको गति सीमाले रुसी ड्रोन रोक्ने अभियान प्रभावित भएको छ । उनले जाडोयामअघि नागरिकको जीवन र युक्रेनको ऊर्जा पूर्वाधारको सुरक्षा यसैमा निर्भर रहेको बताएका छन् ।
उनले अमेरिकी सरकार र मस्कको कम्पनीसँग समन्वय गरेर प्रतिबन्ध हटाउन पहल गर्न अधिकारीहरूलाई निर्देशन दिएको पनि बताएका छन् । ‘इतिहासको सही पक्षमा उभिनु महत्त्वपूर्ण छ’, उनले भनेका छन् ।
युक्रेनले युद्धमैदानमा सञ्चारका लागि सामान्य स्टारलिंक सेवा प्रयोग गर्दै आएको छ भने क्षेप्यास्त्र तथा ड्रोन रोक्ने अभियानमा सैन्य प्रयोजनको स्टारशिल्ड प्रयोग गर्दै आएको छ ।
जेलेन्स्कीका अनुसार अग्रपङ्क्ति र रुसी नियन्त्रणमा रहेका क्षेत्रमा स्टारशिल्ड टर्मिनलको सञ्चालन गतिमा लगाइएको प्रतिबन्ध अझै कायम छ । यसका कारण प्रतिआक्रमणका लागि प्रयोग गरिने युक्रेनी ड्रोनले प्रतिघण्टा १६१ किलोमिटरभन्दा बढी गतिमा उड्दा सञ्चालकसँगको सम्पर्क गुमाउने गरेका छन् । जसले रुसी जेट इन्जिनयुक्त ड्रोनलाई रोक्न कठिन बनाएको छ ।
यसअघि एलन मस्कले स्टारशिल्ड अमेरिकी सरकारको नियन्त्रणमा रहेकाले प्रतिबन्धको जिम्मेवारी पनि अमेरिकी सरकारकै भएको बताएका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफू जिम्मेवार नरहेको बताउँदै मस्कलाई सेवा सामान्य अवस्थामा फर्काउन निर्देशन दिएको बताएका थिए ।
यसैबीच, रुसले आइतबार युक्रेनका जापोरिजिया, सुमी, ओडेसा, झितोमिर र किरोभोहरादलगायत क्षेत्रमा ऊर्जा पूर्वाधार तथा रेल सञ्जाललाई लक्षित गरी आक्रमण गरेको युक्रेनले जनाएको छ । आक्रमणमा केही मानिस घाइते भएका छन् भने चेर्निहिभ क्षेत्रमा दुई जनाको मृत्यु भएको बताइएको छ ।
यता युक्रेनले पनि रुसको तातारस्तानस्थित एक पेट्रोकेमिकल उद्योग र तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ । उता इस्टोनियाले रुसी गुप्तचर निकायको संलग्नतामा ड्रोन निर्माता कम्पनीमा आगजनीको प्रयास भएको आशंकापछि आगामी डिसेम्बर १ देखि रुससँगका सीमा नाका बन्द गर्ने घोषणा गरेको छ ।