मुख्य समाचार
सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ
सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ

। पोखरा–१८ सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका छन् ।

पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

सराङकोटस्थित बालसुधार गृहबाट सुरक्षाकर्मीकै आँखा अगाडि पर्खाल नाघेर भागेका १८ वर्षीय थापा थरका बालबन्दीको खोजी गर्ने क्रममा राजमार्गहरूमा बेरिकेड राखेर चेकजाँच गरिएको थियो भने कुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

‘बालसुधार गृहको पर्खाल नाघेर पछाडिबाट भागेका बालबन्दीलाई १८ घण्टामा लेकसाइडबाट पक्राउ गर्न सफल भयौँ । उनको खोजीमा झन्डै एक सय जना प्रहरी नै परिचालन हुनुप¥यो,’ एसपी कार्कीले भने, ‘बालसुधार गृहमा सुरक्षा लगायतका धेरै कुराको प्रबन्ध नहुँदा समस्या छ ।’


यसअघि पनि यी बालबन्दी उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । बिरामी परेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका बेला प्रहरीलाई नै छक्याएर उनी भाग्न सफल भएका थिए । २०८२ पुस २४ गतेदेखि फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए ।

उनलाई पक्राउ गरी पुनः सराङकोटस्थित बालसुधार गृहमा लगिएको थियो । उनै बालबन्दी आइतबार फेरि भाग्न सफल भएका थिए । तर, प्रहरीले उनलाई १८ घण्टामै पक्राउ गरी कारागार ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

पाँचथरका यी बालबन्दी चोरी मुद्दामा परेका थिए । पाँचथरमा पनि चोरी गरेपछि उनी पोखरा आइपुगेका थिए । पोखराको एउटा होटलमा काम गर्ने क्रममा उनले फेरि चोरी गरेका थिए । चोरीको आरोपमा पक्राउ परेपछि उनलाई बालसुधार गृह पठाइएको थियो । उनीमाथि चोरीसम्बन्धी दुईवटा मुद्दा छन् ।

बालसुधार गृहमा प्रहरी पोसाक लगाएर बस्न पाइँदैन । प्रहरीलाई हतियार बोक्ने अधिकारसमेत हुँदैन भने त्यहाँ प्रहरीको दरबन्दी पनि छैन । अहिले जिल्ला प्रहरी कार्यालयले आफ्नै जनशक्तिबाट त्यहाँको सुरक्षा व्यवस्थापन गर्दै आएको छ । जसका कारण कतिपय अवस्थामा सुरक्षामा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

उमेर पुगेका र अन्य बालबिज्याइँमा संलग्न बालबन्दीलाई सँगै राख्दा पनि बेला–बेला तनावको स्थिति सिर्जना हुने गरेको छ । अदालतबाट सजायको आदेश पाएका यस्ता बालबन्दीको उमेर बाल्यावस्था नाघे पनि सजाय भुक्तान नहुँदासम्म बालसुधार गृहमै राख्ने गरिएको छ । सबै बालबन्दीलाई राख्न सक्ने क्षमताभन्दा दोब्बर संख्यामा बालबन्दी राख्नुपर्दा समस्या उत्पन्न हुने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

सराङकोटस्थित बालसुधार गृहमा आगजनी र विवादका घटनासमेत भएका छन् । त्यहाँ चक्कु प्रहारसम्मका घटना भएका थिए । यसअघि पनि बालसुधार गृहको पछाडिबाट पर्खाल नाघेर तीन जना बालबन्दी भाग्न सफल भएका थिए ।

जेनजी आन्दोलनका क्रममा यहाँबाट १०९ जना बालबन्दी भागेका थिए । तीमध्ये आठ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने बताएका छन् । बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधान तथा कानुनलाई मिचेर कुनै पनि काम गर्न नमिल्ने बताएका हुन् । देश लोकतान्त्रिक प्रणाली र कानूनी राज्यको अभ्यासमा रहेकाले काम ...
: प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका दानबहादुर कार्कीले पत्र बुझेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नियुक्त भएकै दिन कार्कीले नियुक्ति पत्र बुझेको जानकारी दिए। तर, निवर्तमान प्रहरीमहानिरीक्षक कार्की भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध वारिसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको पेशी सोमबारका ...
: उपत्यकाका विभिन्न स्थानमा पनि छठ पर्व मनाइएको छ। गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा गरिएको हो। छठपर्व सूर्यदेव र छठी माताको उपासना गर्दै अत्यन्त निष्ठा, शुद्धता र भक्तिभावका साथ मनाइने एक प्रमुख लोकपर्व हो।
। कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवीराज थपलियाले ...
: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले जनताको विश्वास गुमाएको बताएका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को पदस्थापन तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार वालिङमा सम्बोधन गर्दै पौडेलले सरकारले आफूले बोलेका कुरालाई कानुन झैँ ठान्ने गरेको उल्लेख गरे। निर्वाचनमा धेरै सिट जित्दैमा सरकारले आफूलाई संविधानभन्दा माथि ठान्न नहुने उनको भनाइ थियो। ‘संविधानभन्दा माथि कोही ...