मुख्य समाचार
एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने
एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

। नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको छ । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताए ।


भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आचार्यका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । साथै मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने रहेको छ ।

‘भेलाको मुख्य उद्देश्य पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु, आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु तथा पार्टीका दुई प्रमुख कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ । साथै, मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखिएको छ । भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका पार्टी कमिटी, जनप्रतिनिधि तथा जनसंगठनका प्रतिनिधिसहित ३ हजार ५१४ जनाको सहभागिता रहनेछ,’ उनले भने ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्ने कार्यतालिका छ । उनले पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् । भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रश्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रश्तुत गर्नेछन् ।

महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।

‘भेलाको व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा तथा सहभागीहरूको कार्ड वितरणको आवश्यक तयारी पूरा गरिएको छ । सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूबाट स्थानीय निर्वाचन केन्द्रित सुझावसमेत संकलन गरिनेछ,’ उनले भने ।

भेलामा केन्द्रिय कमिटी, केन्द्रिय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् ।

त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।

राष्ट्रिय भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ । यसबाट आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ ।

सहभागीको आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ । स्वास्थ्य सेवाका लागि कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रिय कार्यालय च्यासलमा मिलाइएको आचार्यले बताए ।

भेलाको उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन, श्रव्यदृश्य सामग्री छायांकन तथा सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउने एमालेले जनाएको छ ।

एमालेले पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्ने, संगठनलाई निर्वाचन केन्द्रित बनाउने र नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा समानता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय भेलालाई महत्वपूर्ण रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् । प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । यसअघि शनिबार प्रदेश सभापति बलायरले विज्ञप्ति जारी गरेर कैलालीको ...
। कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ । घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो । आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा बढी मूल्यको क्षति ...
। दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी ...
। नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा हुने भएको छ । दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी देउवा समूहका प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माले पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अधिवेशनमा देउवा समूहको ‘१५औं ...
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको छ। सम्मेलनमा नेपालको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएपछि यही नोभेम्बर १४ देखि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कृषिमन्त्री गीता चौधरीले गरेकी ...