मुख्य समाचार
बंगलादेशकी शेख हसिनाको गृहनगरमा अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड
बंगलादेशकी शेख हसिनाको गृहनगरमा अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड

। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् ।

उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्‍याइएको छ ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन् । केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम राखिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए ।

प्रदर्शनमा सहभागी कतिपयले खुकुरी, भाला, बन्चरो, लाठी र डुंगा चलाउन प्रयोग गरिने काठका डाँडाजस्ता स्थानीय हतियार बोकेका थिए । उनीहरूले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए ।


द डेली स्टारका अनुसार आइतबार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, रिक्सा, बस र ट्रकमा प्रदर्शनकारी गोपालगञ्ज सहर आइपुगेका थिए । उनीहरू दिउँसो १२ बजेतिर बीएसआईसी पुल क्षेत्रबाट जुलुससहित निस्किएका थिए । प्रदर्शन दिउँसो करिब १ः४५ बजेसम्म चलेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीका गाडीमा तोडफोड गरिएको थियो । प्रदर्शनकारीले टायर र अन्य सामग्रीमा आगो लगाएका थिए ।

घटनापछि जिल्लाका प्रमुख अधिकारी र प्रहरी प्रमुख सरुवा

प्रदर्शन र तोडफोडपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी)लाई सरुवा गरेको छ ।

द डेली स्टारका अनुसार जिल्ला प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई फेनी जिल्लामा सरुवा गरिएको छ । उनको ठाउँमा फेनीका प्रहरी प्रमुख प्रत्युष कुमार मजुमदारलाई नियुक्त गरिएको छ ।

त्यस्तै, गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी मोहम्मद आरिफ उज्जमानलाई जिम्मेवारीबाट हटाएर सार्वजनिक प्रशासन मन्त्रालयमा तानिएको छ । हबीगञ्जका प्रमुख जिल्ला अधिकारी जीएम सरफराजलाई गोपालगञ्जको जिम्मेवारी दिइएको छ ।

सोमबार सार्वजनिक भएको अर्को विवरणअनुसार जिल्लाका तीन प्रहरी चौकीका प्रमुखलाई समेत सरुवा गरिएको छ ।

जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती सुरक्षा बल बंगलादेश (बीजीबी), प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ । युनाइटेड न्युज अफ बंगलादेशका अनुसार गोपालगञ्जमा करिब १५० बीजीबी सुरक्षाकर्मी परिचालन गरिएको छ ।



डिसेम्बरमा फर्किने हसिनाको घोषणा

गोपालगञ्जमा हिंसात्मक प्रदर्शन भएको समयमा हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने बताउँदै आएकी छन् । ७९ वर्षीया हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी थिइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छन् ।

हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि कानुनी लडाइँ लड्ने र स्वदेश फर्किने बताएकी छन् । उनले बंगलादेश फर्केर अदालतसमक्ष उपस्थित हुने इच्छा व्यक्त गरेकी छन् ।

उनका लन्डनस्थित कानुन व्यवसायीहरूले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गरिदिन आग्रह गर्दै नयाँदिल्लीस्थित बंगलादेशी कूटनीतिक नियोगमा पत्र पठाएका थिए । तर बंगलादेश सरकारले उक्त माग अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ ।

द एसोसिएटेड प्रेसका अनुसार हसिनाका सहयोगी अबु ओबैदाह आरिनले उनी डिसेम्बरसम्म बंगलादेश फर्किने तयारीमा रहेको बताएका छन् । उनका कानुन व्यवसायीले हसिनाको बंगलादेशी नागरिकताको आधारमा आवश्यक कागजात उपलब्ध गराउन आग्रह गरेका थिए ।

भारतसँग हसिनाको सुपुर्दगी माग

बंगलादेश सरकारले हसिनालाई भारतबाट फिर्ता ल्याउन सुपुर्दगी सन्धिअनुसार प्रक्रिया अघि बढाएको बताउँदै आएको छ ।

बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले शनिबार पत्रकारहरूसँग कुरा गर्दै हसिनालाई स्वदेश फर्काउन आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको बताएका थिए ।

‘कानुनी प्रक्रियाअनुसार हामीले गर्नुपर्ने सबै काम पूरा गरेका छौँ । अब भारतले के गर्छ, त्यो उसको निर्णयमा निर्भर गर्छ,’ उनले भनेका थिए ।

भारतले भने हसिनालाई सुपुर्दगी गर्ने वा नगर्नेबारे अन्तिम निर्णय सार्वजनिक गरेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नोभेम्बर १० मा पत्रकारहरूसँग कुरा गर्दै हसिनाको सुपुर्दगी कानुनी विषय भएको र त्यसलाई कानुनी प्रक्रियाबाटै सम्बोधन गरिने बताएका थिए ।

‘यो कानुनी विषय हो र यसलाई सोहीअनुसार सम्बोधन गरिनेछ,’ उनले भनेका थिए ।

बंगलादेशले हसिनाको फिर्तीलाई भारतसँगको द्विपक्षीय सम्बन्धसँग पनि जोड्दै आएको छ । हसिना र अन्य फरार व्यक्तिको स्वदेश फिर्तीले दुई देशबीचको सम्बन्ध तथा उच्चस्तरीय भ्रमणका लागि अनुकूल वातावरण बन्ने ढाकाको भनाइ छ ।

मानवताविरुद्धको अपराधमा मृत्युदण्ड

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो ।

सन् २०२४ मा विद्यार्थी आन्दोलन दबाउने क्रममा भएको हिंसात्मक कारबाहीमा भूमिका खेलेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो । पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि सोही मुद्दामा मृत्युदण्ड सुनाइएको थियो ।

तर हसिनाले आफूमाथिको अभियोग र अदालतको फैसलालाई अस्वीकार गर्दै आएकी छन् । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भने अभियुक्तको अनुपस्थितिमा भएको सुनुवाइ र मृत्युदण्डको फैसलालाई लिएर निष्पक्ष सुनुवाइसम्बन्धी प्रश्न उठाएको थियो ।

हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि सत्ताच्युत भएकी थिइन् । त्यसपछि अवामी लिगका गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ । यही राजनीतिक पृष्ठभूमिमा हसिनाको स्वदेश फिर्तीको घोषणासँगै उनको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन र तनाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो। ईयूको ...
। विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको जिम्मेवारी दिइयोस् भन्ने चाहन्छन् ...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वका प्रमुख समस्याको जड इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी मानसिकता भएको आरोप लगाएका छन् । वासिङ्टन डीसीमा आयोजित सन् २०२६ को राष्ट्रिय वकिल सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् । यमनका हुथी विद्रोही, इराकका शिया लडाकु समूह, सिरियाका ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिका र अमेरिकी अर्बपति एलन मस्कसँग आग्रह गरेका छन् । उनले प्रतिबन्धका कारण रुसी आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको बताएका छन् । जेलेन्स्कीका अनुसार अमेरिकी सरकारको सहयोगमा युक्रेनले प्रयोग गरिरहेको सैन्य प्रयोजनको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारशिल्ड’ मा लगाइएको गति सीमाले रुसी ड्रोन रोक्ने अभियान प्रभावित ...
बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए । बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा समेत ...