। जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्।
आईसीसीले शाहको नेतृत्वप्रति बोर्डले देखाएको विश्वास र क्रिकेटको विश्वव्यापी विस्तार, दर्शकको संख्या वृद्धि तथा व्यावसायिक विकासलाई अघि बढाउन निरन्तरताको आवश्यकता रहेको जनाएको छ।
क्रिकेट सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा पुनरागमनको तयारीमा छ। साथै, आईसीसीले प्रतियोगिताहरूको दीर्घकालीन कार्यक्रम विस्तार गर्दै सहभागिता र खेल विकासका थप अवसर सिर्जना गर्ने योजना अघि सारेको छ।
पुनः नियुक्तिपछि शाहले बोर्डका निर्देशकहरूले आफूलाई गरेको विश्वासप्रति आभार व्यक्त गर्दै विश्वभर क्रिकेटको हितमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले क्रिकेट ओलम्पिकमा फर्कनु नयाँ दर्शकसम्म खेल पुर्याउने र नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्ने महत्त्वपूर्ण अवसर भएको बताए। प्रतियोगिता आयोजना गर्नु मात्र नभई खेलाडी, समर्थक, व्यावसायिक साझेदार र अन्य सरोकारवालालाई समेटेर क्रिकेटको दिगो भविष्य निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
आईसीसी बोर्डले महिला क्रिकेटको विकास, एसोसिएट सदस्य राष्ट्रका लागि अवसर विस्तार, अन्तर्राष्ट्रिय क्रिकेटको निष्पक्षता र विश्वसनीयता कायम राख्ने तथा खेलको दीर्घकालीन भविष्यका लागि दिगो व्यावसायिक अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष रिचर्ड थम्पसनले शाहको निरन्तर नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेटका लागि महत्त्वपूर्ण समयमा आएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय खेल तालिका सुदृढ बनाउने, द्विपक्षीय क्रिकेटको प्रतिस्पर्धात्मकता र महत्त्व कायम राख्ने तथा प्रमुख प्रतियोगितालाई खेलको भविष्यसँग जोड्ने विषयमा आईसीसीले भूमिका खेल्नुपर्ने बताए।
आईसीसीकी स्वतन्त्र निर्देशक रोस रिभाजले शाहको पुनर्नियुक्तिले महिला क्रिकेटको विकासलाई थप बलियो बनाउने अवसर प्रदान गरेको बताइन्। उनले महिला क्रिकेटमा विश्वव्यापी रूपमा बढिरहेको आकर्षणलाई कायम राख्दै खेल्नबाट टाढिएका महिलाका लागि पनि अवसर र बाटो तयार गर्नुपर्नेमा जोड दिइन्।
आईसीसीका उपाध्यक्ष तथा जिम्बाब्वे क्रिकेटका अध्यक्ष तावेङ्वा मुकुहलानीले शाहले सदस्य राष्ट्रहरूलाई साझा दृष्टिकोणमा एकजुट गर्न सफल नेतृत्व देखाएको बताए। सन् २०२७ को पुरुष एकदिवसीय विश्वकप अफ्रिकामा आयोजना हुनुले त्यस क्षेत्रमा क्रिकेट विस्तारका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने उनको भनाइ छ।
न्युजिल्यान्ड क्रिकेटका निर्देशक रोजर ट्वोस र एसोसिएट सदस्यका अध्यक्ष गुरुमूर्ति पलानीले पनि शाहको पुनर्नियुक्तिको स्वागत गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेटलाई बलियो बनाउने, एसोसिएट सदस्य राष्ट्रलाई उच्चस्तरीय प्रतियोगितामा थप अवसर दिने र क्रिकेटको विश्वव्यापी विस्तारलाई सबै सदस्यका लागि लाभदायी बनाउने विषयमा जोड दिएका छन्।