। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।
सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।
बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्याउन कोषको रकम खर्च भइरहेको उनले बताए । मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे ।
भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए ।
नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैया हस्तान्तरण गरेको हो ।