मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा

: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिकता, प्रतिस्पर्धा र लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याएको छ। आठ फ्रेन्चाइज टोलीको सहभागिता, विश्व क्रिकेटका चर्चित खेलाडीको उपस्थिति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, बढ्दो पुरस्कार राशि र दर्शकको आकर्षणले यसपटकको एनपीएललाई थप चर्चित बनाएको छ।

कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको लिग चरणका खेल सम्पन्न भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका खेलले नेपाली क्रिकेटमा नयाँ सम्भावना र चुनौती दुवै उजागर गरेको छ। प्रतियोगिताका खेल आईसीसीले आधिकारिक टीट्वेन्टी तथ्यांकमा गणना हुने गरी मान्यता दिएपछि खेलाडीको व्यक्तिगत प्रदर्शनले पनि अन्तर्राष्ट्रिय अभिलेखमा स्थान पाएको छ।

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स गरी ८ टोलीले प्रतिस्पर्धा गरेका छन्। एक टोलीले अर्को टोलीसँग एक/एक खेल खेल्ने लिग प्रणालीअनुसार २८ खेल सम्पन्न भएका छन्। त्यसपछि शीर्ष चार टोलीबीच प्लेअफका चार खेल हुनेछन्। यसरी प्रतियोगितामा कुल ३२ खेल समावेश छन्।

लुम्बिनी शीर्ष स्थानमा

लिग चरणका २८ खेलपछि साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा छ। सात खेल खेलेको लुम्बिनीले पाँच जित, एक हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। सुदूरपश्चिम रोयल्स पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थान हासिल गरेको छ।

काठमाडौं गोर्खाज चार जितसहित आठ अंक जोडेर तेस्रो तथा चितवन राइनोज तीन जित, तीन हार र एक खेलमा अंक बाँड्दै सात अंकसहित चौथो स्थानमा रहे। विराटनगर किङ्स र कर्णाली याक्सले समान तीन जित र चार हारबाट ६–६ अंक जोडे। रनरेटका आधारमा विराटनगर पाँचौं र कर्णाली छैटौं भए। पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले समान दुई जितबाट चार अंक जोडे पनि नेट रनरेटका आधारमा पोखरा सातौं र जनकपुर आठौं स्थानमा रहे।

लिग चरणमा शीर्ष चारमा पर्ने टोलीले प्लेअफमा स्थान बनाएका छन्। पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्नेछन्। तेस्रो र चौथो स्थानका काठमाडौं र चितवनबीच एलिमिनेटर हुनेछ। पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर हुनेछ। फाइनल मंसिर ५ गते हुनेछ।

ब्याटिङमा सामराको दबदबा, बलिङमा चार खेलाडी अगाडि

तेस्रो संस्करणको एनपीएलको लिग चरणमा व्यक्तिगत प्रदर्शनका हिसाबले विदेशी खेलाडीको प्रभाव देखिए पनि नेपाली खेलाडीले पनि उल्लेखनीय प्रदर्शन गरेका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पोखरा एभेन्जर्सका युभराज सामरा शीर्ष स्थानमा छन्। उनले चार पालिमा २९४ रन बनाएका छन्।

उनको औसत ७३.५० र स्ट्राइक रेट १७९.३ छ। उनको नाममा एक शतकसमेत छ। विराटनगर किङ्सका लोकेश बम २४२ रनसहित दोस्रो स्थानमा छन्। उनले सात खेलमा ३४.५७ को औसत र १४२.४ को स्ट्राइक रेटमा रन बनाएका छन्। पोखराका कुशल भुर्तेल २३५ रनसहित तेस्रो स्थानमा छन्। उनको औसत ३३.५७ र स्ट्राइक रेट १४८.७ छ। काठमाडौंका रासिद खानले १८६, चितवनका रवि बोपाराले १८४, कर्णालीका अरिफुल इस्लामले १८२ र पवन सर्राफले १६७ रन बनाएका छन्। सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले १५० रन बनाउँदा चितवनका डाविड मलानले १४९ र लुम्बिनीका डार्सी सर्टले १४८ रन जोडेका छन्। विराटनगरका आन्द्रे रसेलले १४४ रन बनाएका छन्।

बलिङतर्फ सर्वाधिक विकेट लिने सूचीमा चार खेलाडीले समान १२ विकेट लिएका छन्। चितवनका कमलसिंह ऐरी, रिजन ढकाल, जनकपुरका राहुल यादव र काठमाडौंका जहानदाद खानले समान १२ विकेट लिएका हुन्। कमलले १८ ओभरमा ५.७२ को इकोनोमीमा विकेट लिँदा रिजनले १९ ओभरमा ६.६३ को इकोनोमीमा बलिङ गरेका छन्। जनकपुरका हरमित सिंह र कर्णालीका मार्क वाटले समान ११ विकेट लिएका छन्। सुदूरपश्चिमका अनिल खरेल, कर्णालीका हुसेन तलात र सोमपाल कामीले समान १० विकेट लिएका छन्। विराटनगरका सन्दीप लामिछानेले सात विकेट लिए पनि व्यक्तिगत उत्कृष्ट बलिङमा ६ विकेट लिँदै २७ रन खर्चिएका छन्।

पोखराको कीर्तिमान

एनपीएलको तेस्रो संस्करणमा सर्वाधिक ठूलो योगफलको कीर्तिमान पोखरा एभेन्जर्सले बनाएको छ। लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजविरुद्ध पोखराले तीन विकेट गुमाएर २२४ रन बनाएको थियो। यो एनपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो। यसअघि दोस्रो संस्करणमा विराटनगर किङ्सले पोखराविरुद्ध बनाएको २२० रनको कीर्तिमान तोडिएको हो। यस खेलमा कुशल भुर्तेलले ५१ बलमा आठ चौका र आठ छक्कासहित ९९ रन बनाएका थिए। उनी एक रनले शतक बनाउनबाट चुकेका थिए।

यो नेपाली ब्याटरको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर पनि हो। उनले युभराज सामरासँग दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरेका थिए। सामराले ५५ बलमा ८९ रन बनाए। पोखराले यो खेल ५५ रनले जितेको थियो। यस संस्करणमा सामराले कर्णाली याक्सविरुद्ध १०२ रन बनाउँदै प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोर पनि आफ्नो नाममा राखेका छन्। त्यस्तै, बलिङमा सन्दीप लामिछानेको ६ विकेटको प्रदर्शन
उल्लेखनीय रह्यो।

कुल आम्दानी डेढ अर्ब

एनपीएलको तेस्रो संस्करणमा पुरस्कार राशि पनि उल्लेखनीय रूपमा बढाइएको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ। अघिल्ला दुई संस्करणमा विजेताले एक करोड १० लाख रुपैयाँ पाउँदै आएका थिए। यसपटक उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताबाट कुल डेढ अर्ब रुपैयाँबराबरको आर्थिक कारोबार हुने लक्ष्य राखेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रायोजनबाट २० करोड र टिकट तथा प्रसारण अधिकारबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ।

डीआरएस र विदेशी खेलाडीको नयाँ आकर्षण

तेस्रो संस्करणको अर्को महत्वपूर्ण विशेषता निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग हो। एनपीएल इतिहासमै पहिलोपटक डीआरएस प्रयोग गरिएको छ। यसले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने अवसर प्रदान गर्नुका साथै खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा गरिएको छ।

यसपटक टोलीमा विदेशी खेलाडी राख्न पाउने संख्या पनि बढाइएको छ। अघिल्लो व्यवस्थामा एक टोलीले बढीमा छ विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेकामा यसपटक आठ जनासम्म राख्न पाउने व्यवस्था गरिएको छ। यद्यपि प्लेइङ–११ मा कम्तीमा सात नेपाली खेलाडी अनिवार्य गरिएको छ।

विदेशी खेलाडीको सूचीमा आन्द्रे रसेल, डेभिड वार्नर, मोइन अली, सकिब अल हसन, एन्जेलो म्याथ्युज, सिकन्दर राजा र डेभिड मिलरजस्ता चर्चित नाम छन्। उनीहरूको उपस्थितिले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा र अनुभव आदानप्रदान गर्ने अवसर दिएको छ।

व्यावसायिक यात्रामा नयाँ आधार

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि नयाँ आधार तयार गरेको छ। आईसीसीको मान्यता प्राप्त भएपछि प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट तथा अन्य व्यक्तिगत प्रदर्शन आधिकारिक टीट्वेन्टी तथ्यांकमा गणना हुनेछन्। यसले नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शनलाई अन्तर्राष्ट्रिय अभिलेखमा स्थापित गर्न सहयोग पुग्नेछ।

लिग चरण सकिँदासम्मको तथ्यांकले यसपटकको एनपीएलमा ब्याटिङ, बलिङ र टोलीगत प्रतिस्पर्धा तीनवटै पक्षमा उल्लेखनीय प्रदर्शन गरेको छ। अब प्लेअफ र फाइनलले तेस्रो संस्करणको विजेता निर्धारण गर्नेछ। लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले उपाधि रक्षा गर्ला वा सुदूरपश्चिम, काठमाडौं र चितवनमध्ये कुनै टोलीले नयाँ इतिहास बनाउला भन्ने चासो थपिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् । ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन्। उनले ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना हुने ग्लोबल छनोटबाट आठ टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगितामा चार समूहमा चार–चार टोली रहनेछन्। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगितामा कुल ३१ खेल खेलाइनेछ। आठ टोलीको छनोटमा क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ। ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको हो। आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। उनीहरूलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै ...
। जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्। आईसीसीले शाहको नेतृत्वप्रति बोर्डले देखाएको विश्वास र क्रिकेटको विश्वव्यापी विस्तार, दर्शकको संख्या वृद्धि तथा व्यावसायिक विकासलाई अघि बढाउन निरन्तरताको आवश्यकता रहेको जनाएको छ। क्रिकेट सन् २०२८ मा ...
। विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ । मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३-० को अग्रता बनाएको थियो । पछि स्पेनले ...