: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टीको तत्काल सरकार बदल्ने वा सरकारमा जाने कुनै योजना नरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय प्रक्रियाबाट वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारसँग प्रचण्ड बहुमत रहेको उल्लेख गर्दै भट्टराईले पार्टीभित्रै आन्तरिक द्वन्द्व भएर नेतृत्वले विकल्प खोजे त्यो उनीहरूकै विषय हुने बताए ।
‘उहाँहरूले नै विकल्प खोज्नुभयो भने त्यो उहाँहरूको मामला हो । त्यसमा हामी साईँसाईँ सुइँसुइँ गर्ने कुरा भएन,’ उनले भने ।
भट्टराईले सरकारका कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरे । सरकारले गलत गतिविधि जारी राखे जनताबाट सडक आन्दोलनमार्फत प्रतिवाद हुन सक्ने उनको भनाइ थियो ।
‘अहिले हामी सरकार बदल्ने, सरकारमा जाने भन्ने सोचमै छैनौँ । सरकारतिर हाम्रो आँखा नै छैन, सरकार बदल्ने हाम्रो एजेन्डै होइन,’ उनले स्पष्ट पारे ।
उनले एमालेको आगामी राष्ट्रिय भेला स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर आयोजना गर्न लागिएको जानकारी दिए । भेलाले सरकारका कामकारबाहीबारे पार्टीको धारणा तय गर्नुका साथै गलत कामविरुद्ध दबाब सिर्जना गर्ने बताए ।
भट्टराईका अनुसार पछिल्लो सात–आठ महिनामा सरकारका कामकारबाहीबारे विभिन्न आलोचनात्मक अवस्था सिर्जना भएका छन् । ती विषयमा पार्टीले आफ्नो धारणा बनाएर सरकारलाई दबाब दिने उनको भनाइ छ ।