मुख्य समाचार
ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताए
ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।

हुआङले गत साता व्यक्तिगत सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि एनभिडियाको प्रमुख पदबाट राजीनामा दिएका थिए । उनीमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँग र आफ्नै कम्पनीकी एक कर्मचारीसँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएको थियो ।

विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व परिवर्तनले कृत्रिम बौद्धिकता (एआई) उद्योगमा समेत चर्चा सिर्जना गरेको छ । यसैबिच हुआङलाई पुनः नेतृत्वमा फर्काउन कम्पनीका सञ्चालक समितिमाथि दबाब बढ्न थालेको बिबिसिमा उललेख छ ।

स्पेसएक्सका प्रमुख एलन मस्क र फोर्टनाइट निर्माता कम्पनी एपिक गेम्सका प्रमुख टिम स्वीनीसहित प्रविधि क्षेत्रका व्यक्तिहरूले ‘ब्रिङ जेन्सेन ब्याक’ अभियानलाई समर्थन गरेका छन् । हुआङलाई पुनर्बहाली गर्न माग गर्दै सुरु गरिएको खुला पत्रमा एक लाख ७५ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।

सोमबार ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हुआङ पुनः एनभिडियाको नेतृत्वमा फर्किए आफूलाई कुनै आपत्ति नहुने बताएका हुन् । उनले हुआङको भविष्यबारे सोधिएको प्रश्नमा आफूले त्यस्तो निर्णयलाई नराम्रो नमान्ने प्रतिक्रिया दिएका थिए ।

यसअघि ‘स्ट्यान्ड विथ जेन्सेन’ अभियानमा संलग्न समूहले हुआङलाई पर्याप्त प्रक्रियागत सुनुवाइबिना पदबाट हटाइएको भन्दै कम्पनीको सञ्चालक समितिसमक्ष पुनर्बहालीको माग गरेको थियो । उक्त समूहले आफूहरू वर्तमान तथा पूर्व कर्मचारी, साझेदार, सेयरधनी र समर्थक रहेको दाबी गरेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार हुआङले आफ्नो पुनरागमनको सम्भावनाबारे निकटस्थहरूसँग छलफल गरिरहेका छन् । यद्यपि एनभिडियाभित्र जारी आन्तरिक अनुसन्धानका कारण तत्काल उनको पुनर्बहाली हुने सम्भावना न्यून रहेको बीबीसीले जनाएको छ ।

यस प्रकरणले अमेरिकी सरकारी निकायहरूबिच समेत तनाव सिर्जना गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एनभिडियाले अब कम्पनीबाहिरबाट नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुपर्ने धारणा राखेका छन् । अर्कोतर्फ ट्रम्पले हुआङप्रति सकारात्मक धारणा व्यक्त गर्दै उनीमाथि विश्वास रहेको बताएका छन् ।

विवादसँगै एनभिडियाका उच्च क्षमताका चिप चीनसम्म पुगेको हुन सक्ने आशंका पनि उठेको छ । अमेरिकाले सोमबार सिंगापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र ब्राजिलमा रहेका कम्पनीलाई उन्नत एआई चिप निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ व्यवस्था अघि सारेको छ । निर्यात प्रतिबन्ध छल्दै चिप चीन पुग्न सक्ने सम्भावना रोक्नु यसको उद्देश्य रहेको बताइएको छ ।

हुआङले अमेरिकी कंग्रेसमा उपस्थित भएर राष्ट्रिय सुरक्षामा असर परेको वा नपरेको विषयमा बयान दिन सहमति जनाएका छन् । यस प्रकरणमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले समेत अनुसन्धान गरिरहेको ट्रम्पले बताएका छन् ।

यसैबिच एलन मस्कले हुआङको बहिर्गमनले एनभिडियासँग भएका केही महत्त्वपूर्ण प्रविधि तथा आपूर्ति सम्झौतामा असर पर्न सक्ने बताएका छन् । उनका अनुसार कम्पनीसँग भएका कतिपय महत्त्वपूर्ण सम्झौता लिखितभन्दा पनि हुआङसँगको व्यक्तिगत विश्वास र सहमतिमा आधारित थिए ।

हुआङको राजीनामापछि एनभिडियाको बजार मूल्यमा पनि ठूलो गिरावट आएको समाचारमा उल्लेख छ । यद्यपि कम्पनीको बजार मूल्य करिब ३.८७ ट्रिलियन अमेरिकी डलर रहेको छ । हाल कम्पनीकी प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसले नेतृत्व सम्हालिरहेकी छन् । उनले मंगलबार कम्पनीको वित्तीय नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च ...
: अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने भएको छ । अदालतले सोमबार सुनुवाइ गर्दै सन् २०२७ मार्च २९ का लागि पुनः सुनुवाइको मिति तोकेको हो । यसअघि भएको सुनुवाइमा १२ सदस्यीय जुरीबीच एकमत हुन नसकेपछि अदालतले मुद्दामा सुनुवाइ निष्कर्षविहीन भएको घोषणा गरेको थियो । ३६ वर्षीया ...
। इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ । सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ । लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त ...
: युरोपेली संघ (ईयू) का पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई देशनिकाला गरी रुवान्डा पठाउने योजना सार्वजनिक गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि रुवान्डामा आप्रवासी फिर्ता केन्द्र (रिटर्न हब) सञ्चालन गर्ने तयारी गरेका हुन् । नेदरल्यान्ड्स र डेनमार्क सरकारले सोमबार यसको जानकारी दिएका हुन् । यो योजना सम्बन्धित पाँच देशमा ...
। दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन ...