मुख्य समाचार
नेपाल–चीन बीचको उत्तरी तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीहरूले चिन्ता व्यक्त
नेपाल–चीन बीचको उत्तरी तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीहरूले चिन्ता व्यक्त

: नेपाल–चीन बीचको उत्तरी तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले नियमित रूपमा नाका सुचारु गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन्।

तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले सोमबार आयोजना गरेको सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले नाका चाँडो खुलाउन दबाब दिएका हुन्। लामो समयसम्म नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायीहरू पेसाबाटै पलायन हुनुपरेको उनीहरूको दुखेसो छ।

२०७२ सालको भूकम्पयता पटक–पटक बन्द हुँदै आएको तातोपानी नाका नियमित सञ्चालनमा चीनले चासो नदेखाएको भन्दै सिन्धुपाल्चोकका व्यापारी तथा जनप्रतिनिधिले अब सरकारले बेइजिङसँग स्पष्ट जवाफ माग्न ढिला गर्न नहुने राय व्यक्त गरे। ‘व्यापारी र व्यवसायीले आशा मारिसकेका छन्। उनीहरू पूर्ण रूपमा निराश भइसकेका छन्,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले भने। अब पनि सरकारले नाका खोल्न उच्चस्तरीय पहलकदमी नलिने हो भने व्यवसायीहरूले यो नाकाबाट व्यवसाय गर्न नसक्ने उनको भनाइ छ।

कार्यक्रममा व्यवसायी, स्थानीय तहका प्रतिनिधि र स्थानीयबीच नाका अवरुद्ध हुनुका कारण, व्यापारीले भोग्नुपरेको सास्ती र आगामी कार्यदिशाबारे बहस भएको थियो। तातोपानी नाकाका लागि लोड गरिएको सामान नाकामा आइपुग्ने बेलामा एक्कासि बन्द हुने गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताए। बाध्य भएर केरुङतर्फ सामान पठाउँदा त्यहाँ पनि अर्कै समस्या आउने र पुनः अन्तै मोड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

त्यस्तै, नेपाल ट्रान्स–हिमालयन सीमा व्यापार संघका रामचन्द्र पुडासैनीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए। आवश्यक परे सरकारी प्रतिनिधिमण्डल नै चीन पठाउनुपर्ने उनको सुझाव छ। ‘नाका नखुल्दा हामी व्यापारीलाई कति मर्का परिरहेको छ भन्ने कुरा सबैले बुझेकै विषय हो, तर पनि समाधानमा ख्याल गरेको देखिँदैन,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले भने, ‘नाकाको अनिश्चितताले व्यवसायी मारमा पर्नुका साथै राष्ट्रिय स्तरमै सामग्री आपूर्तिमा असर पर्ने निश्चित छ।’ श्रेष्ठले नाका क्षेत्रमा पर्ने पहिरो रोकथाम र बाटोको स्तरोन्नति गर्नसमेत आह्वान गरे।

स्थानीय जनप्रतिनिधिहरूले पनि तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारले वास्ता नगरेको गुनासो गरे। ‘अन्तर्राष्ट्रिय महत्वको नाका सञ्चालनमा ल्याउन नेपाल सरकार किन मौन छ, हामीले बुझ्न सकेका छैनौँ,’ सीमावर्ती भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले भने, ‘हामीले नाका सञ्चालनका लागि पटक–पटक सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ। चिनियाँ अधिकारीहरूसँग पनि छलफल गरिरहेका छौँ।’

कार्यक्रममा सांसद भरतप्रसाद पराजुलीले सरोकारवालाहरूको आवाज बोकेर सरकारसमक्ष प्रतिनिधित्व गर्ने आफ्नो जिम्मेवारीअनुसार कार्यक्रम आयोजना गरिएको बताउँदै स्थानीय सरकार र व्यवसायीको समस्या हल गर्न आफू प्रतिबद्ध रहेको बताए। ‘स्थानीय र व्यवसायीहरूको समस्या समाधान गर्नकै लागि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘यहाँ उठेका आवाजलाई सरकारसम्म पुर्‍याएर समाधान गर्ने प्रयत्न गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य नबढाई साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो। निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, गत केही महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा ...
। नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ । परिणामत: नेपाल–चीन व्यापारको चाप अहिले मुस्ताङको कोरला नाकामा परेको छ । लामो दूरीबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेको छ । बजारमा मूल्यवृद्धिको दबाब परेको छ भने ...
। ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ९४ करोड रुपैयाँ छ । गत वर्ष यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँ थियो । कम्पनीको आम्दानी बढे पनि ...
— दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ । 'पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ...
— मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट खाद्यान्न आयातमा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा यो नाका हुँदै आयात हुने चामल, मकै, धान, माल्ट तथा अन्य खाद्यान्नको परिमाण घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा गहुँ आयात नभएकोमा यस वर्ष भने उल्लेख्य परिमाणमा गहुँ भित्रिएको छ। वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु ...