: रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ।
रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले दिउँसो ४:३० बजे मृत घोषणा गरेका थिए। त्यस्तै रौतहट यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।