मुख्य समाचार
सरकार सनक र लहडका भरमा चलिरहेको आरोप
सरकार सनक र लहडका भरमा चलिरहेको आरोप

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान सरकार विधिमा नचलेको टिप्पणी गरे।

‘यो सरकारले ढंगले काम गरिहेको छ? विधिमा काम गरिरहेको छ?’ सम्बोधनका क्रममा थापाले भने ‘छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा चलेको छ। सनक चलेकै भरमा निर्णय भईरहेको छ।’ संसदीय प्रणालीमा सरकार र प्रतिपक्षको आ–आफ्नै जिम्मेवारी हुने बताउँदै सभापति थापाले प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो काम गरिरहेको बताए। सरकारलाई प्रश्न गरेकै कारण आफूहरुविरुद्ध षड्यन्त्र भईरहेको थापाको भनाई छ । यस्तो षडयन्त्रविरुद्ध लड्न कांग्रेस र आफूसँग पर्याप्त तागत रहेको बताउँदै थापाले सत्य र न्यायको पक्षमा उभिन नछाड्ने बताए।

थापाले पार्टीको आधिकारिकतासँग जोडिएर पछिल्लो समय आईरहेका कुराको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन्। ‘अहिले आईरहेको त्यस्ता सानातिना र झिंगे कुराको पछि नलाग्नुस्। यस्तो षड्यन्त्रले हामीलाई गलाउन सक्दैन’ थापाले कार्यकर्तालाई भने ‘नेपाली कांग्रेस र तपाईहरुको सभापतिलाई यस्तो कुराले विचलित पनि बनाउन सक्दैन।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएको उल्लेख गर्दै थापाले रास्वपाको आन्तरिक विषयमा कांग्रेसले हस्तक्षेप नगर्ने तर सरकारको निर्णयमाथि भने प्रश्न उठाउन नछाड्ने बताए। इतिहासमै सबैभन्दा उपयुक्त प्रतिपक्ष अहिलेको सरकारले पाएको दाबी गर्दै उनले सरकारलाई उपद्रो र चकचक छोडेर देशमा रोजगारी सिर्जना गर्न, अर्थतन्त्र सुधार गर्न र युवाहरूलाई देशमै रोक्ने वातावरण बनाउन सुझाव दिए। उनले सरकारको राम्रा काम र राम्रा प्रस्तावलाई कांग्रेसले सहयोग गर्ने बताए।

पार्टीभित्रको आन्तरिक विषय र विशेष महाधिवेशनबारे बोल्दै सभापति थापाले समयको आवश्यकताअनुसार विद्रोह गरिएको र अब सबैलाई मिलाएर पार्टीलाई एकाकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले आगामी पुसको पहिलो सातामा जिल्ला र प्रदेशका अधिवेशनहरू सकेर स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए। त्यसका लागि पहिला आमनागरिकका घरदैलोसम्म पुग्ने अभियान ल्याइने थापाको भनाइ छ।

उम्मेदवार चयन गर्दा मनोनयनको केही घन्टा अगाडि मात्रै टिकट बाँड्ने पुरानो परिपाटीको अन्त्य गरिने स्पष्ट पार्दै उनले स्थानीय तहका उम्मेदवार चयन गर्ने अधिकार अब पार्टीका क्रियाशील सदस्यहरूको हातमा हुने बताए। क्रियाशील सदस्यले गर्ने निर्णयकै आधारमा पार्टीले थप निर्णय गर्ने बताए। थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने समेत प्रष्ट पारेका छन्। गठबन्धन नहुँदा पार्टी र जनताका लागि काम गरेका धेरै योग्य व्यक्ति उम्मेदवार बन्न सक्ने थापाको भनाइ छ।

थापाले छठ पर्व मनाउनका लागि आफू मधेस आएको विषयलाई राजनीतिसँग भन्दा पनि छठको महिमासँग जोड्न आग्रह गरे। उनले छठ पर्वकै माध्यमबाट नेपाली समाजलाई जोड्न र छठको महिमा देशभर बुझाउन आएको बताए। सभापति थापा सर्लाही र पर्साको छठघाटमा पूजा गरेर बारा आएका थिए।

यसैगरी उक्त पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य घनश्याम गिरी, जीतपुरसिमरा नगर सचिव प्रकाश गिरी, पूर्ववडाध्यक्ष सरोज पटेल, रामबाबु पटेललगायतका नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। सभापति थापाले उनिहरुलाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण ...
: रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन् । सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमूखी क्याम्पसको साधारणसभामा बोल्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए । चीन, भारत, अफ्रिका, अमेरिका ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताएका हुन्। मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा ...