: छठघाटमा चर्को स्वरमा डीजे बजाएर होडबाजी गर्ने ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुवै किनारमा बनाइएका छुट्टाछुट्टै छठघाटमा गत आइतबार साँझ चर्को स्वरमा डीजे बजाएर होडबाजी गरिएको थियो।
सोही घटनामा संलग्न ५ जना युवकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का २२ वर्षीय रोशन पटेल, २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का पृथ्वी कार्की, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मन्जुर हवारी रहेका छन्।
दुवै छठघाटमा डीजे सञ्चालन गर्ने व्यक्ति तथा कर्मचारीहरूलाई सोमबार बिहान छठघाटबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। साथै, प्रहरीले दुवै छठघाटबाट डीजे सेट पनि जफत गरेको छ।
छठघाटमा ठूलो आवाजमा डीजे बजाएर सार्वजनिक स्थलमा अशान्ति मच्चाउने, ध्वनि प्रदूषण गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ। साथै, उनीहरूविरुद्ध कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।
वडा नम्बर १७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित छठघाटमा गत वर्षको छठ पूजामा पनि यसैगरी ठूलो आवाजमा डीजे बजाएर होडबाजी गरिएको थियो।