। साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ ।
संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा टिम नै गठन गरेको छ ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार डीएसपीको नेतृत्वमा एउटा टिम नै गठन गरेर संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न लागिएको हो ।
यसका साथै पक्राउ परेका तीनै चिनियाँ नागरिकहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङ्डोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् ।
तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएपछि कारागार पठाइएको एसएसपी सन्तोष खड्काले बताए ।
२२ असोजमा एसएसपी खड्काकै टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।
माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका सुनहरू बरामद भएका हुन् ।
चिनियाँ समूहले सिंगो घर नै भाडामा लिएर सुनको कारखाना चलाएको खुलेको थियो ।