: जेनजी आन्दोलनका क्रममा वीरगन्जको बालसुधार गृहबाट फरार भएका कैदी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा घर भएका २२ वर्षीय युवक अप्राकृतिक मैथुन र कर्तव्य ज्यान मुद्दामा अदालतबाट १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए ।
सजाय भुक्तानीका लागि वीरगन्जको बाल सुधार गृहमा रहेका ती व्यक्ति २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सोमबार ती व्यक्तिलाई वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मालपोत चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।