। चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा ध्वनि प्रदूषण गर्ने तथा आगोको झिल्का निकाल्ने गतिविधिले सर्वसाधारणलाई सास्ती हुनुका साथै सडक सुरक्षामा समेत जोखिम बढाएको भन्दै प्रहरीले अभियान तीव्र बनाएको हो।
विशेषगरी अनावश्यक रूपमा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई लक्षित गरी प्रहरीले चेकजाँच तथा कारबाही अघि बढाएको छ।
ट्राफिक प्रहरीको यो अभियानले सडकमा ध्वनि प्रदूषण नियन्त्रण गर्न, अवाञ्छित गतिविधि रोक्न र सुरक्षित यातायात व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।