मुख्य समाचार
ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन
ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस निकालेका हुन् ।

नोभेम्बर १५ मा ४९औँ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलन सुरु भएकै दिन सयौँ प्रदर्शनकारी सम्मेलनस्थलतर्फ अघि बढेका थिए । तर, प्रहरीले उनीहरूलाई बीचमै रोकेपछि दुवै पक्षबीच झडप भएको थियो ।

रोयटर्सले सार्वजनिक गरेको दृश्य विवरणअनुसार प्रदर्शनकारीहरू मनिलाबाट पासे सहरस्थित फिलिपिन्स अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पीआईसीसी) तर्फ जान खोजेका थिए । प्रहरीले सडकमा अवरोध राखेर उनीहरूलाई अघि बढ्न दिएन । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल तथा झडप भएको थियो ।

प्रदर्शनमा फिलिपिन्सका लोकतन्त्र र सामाजिक न्यायका पक्षमा काम गर्ने विभिन्न समूहको सञ्जाल बागोङ अल्यान्सा सा मकाबायान (बायान) अर्थात् नयाँ देशभक्त गठबन्धनका कार्यकर्ता पनि सहभागी थिए । प्रदर्शनको नेतृत्व बायानका अध्यक्ष टेडी कासिनोले गरेका थिए ।


कासिनोले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले विदेशी नेताहरूको स्वागतमा देखाएको आतिथ्य आफ्नै नागरिकप्रति नदेखाएको भन्दै आलोचना गरेका थिए ।

‘मार्कोसले विदेशीहरूलाई आतिथ्य देखाइरहेका छन्, तर आफ्नै जनताप्रति दमनकारी र कठोर व्यवहार गरिरहेका छन् । आफ्ना नागरिकलाई त्यही आतिथ्य दिइरहेका छैनन् । डोनाल्ड ट्रम्पलाई हाम्रो सन्देश छ, तपाईं यहाँ स्वागतयोग्य हुनुहुन्न,’ उनले रोयटर्ससँग भनेका थिए ।

सोमबार नोभेम्बर १६ मा पनि मनिलामा ट्रम्पको भ्रमणविरुद्ध प्रदर्शन जारी रह्यो । विभिन्न समूहले प्रहरीले प्रदर्शनकारीलाई बलपूर्वक तितरबितर पारेको र पक्राउ गरेको भन्दै विरोध जनाएका थिए ।

जीएमए न्युजका अनुसार आन्दोलनकारी समूह अगस्ट ट्वेन्टी वन मुभमेन्टले मनिला महानगर क्षेत्रमा २०० देखि ३०० प्रदर्शनकारी पक्राउ परेको अनुमान गरेको थियो । रोयटर्स कनेक्टमार्फत सार्वजनिक ईएफई समाचारअनुसार मनिला प्रहरीले आइतबारका प्रदर्शनका क्रममा २११ जना पक्राउ परेको जनाएको थियो । पक्राउ परेकामध्ये २० जना नाबालिगलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको थियो ।

इरान युद्ध र मूल्यवृद्धिलाई पनि जोडेर विरोध

प्रदर्शनकारीले ट्रम्पको भ्रमणको विरोध गर्नुको अर्को प्रमुख कारण पश्चिम एसियामा जारी युद्ध हो । उनीहरूले इरान युद्धका कारण इन्धनको मूल्य बढेको र त्यसले फिलिपिन्सका सर्वसाधारणको जीवनयापन कठिन बनाएको आरोप लगाएका छन् ।

‘हामी यहाँ ट्रम्प आउन लागेकाले विरोध गर्न आएका हौँ । इरान युद्धको विरोध गर्छौँ, किनकि यसले मूल्यवृद्धि र आर्थिक संकटका कारण फिलिपिन्सका जनतालाई ठूलो कठिनाइमा पारेको छ,’ कासिनोले भनेका थिए ।

उनका अनुसार युद्धका कारण सिर्जित आर्थिक कठिनाइको मार सर्वसाधारणले खेपिरहेका बेला सरकारले विदेशी नेताहरूको स्वागतमा बढी ध्यान दिएको छ ।

फिलिपिन्सको आधिकारिक तथ्यांकले पनि त्यहाँ मूल्यवृद्धिको दबाब बढेको देखाउँछ । फिलिपिन्स तथ्यांक प्राधिकरणका अनुसार अक्टोबर २०२६ मा वार्षिक मुद्रास्फीति दर ७.८ प्रतिशत पुगेको थियो । सेप्टेम्बरमा यो दर ७.२ प्रतिशत थियो । सन् २०२५ को अक्टोबरमा भने मुद्रास्फीति १.७ प्रतिशत थियो ।

अक्टोबरमा यातायात क्षेत्रको मूल्य सूचकांकमा वार्षिक वृद्धि २०.१ प्रतिशत पुगेको थियो । आवास, पानी, बिजुली, ग्यास तथा अन्य इन्धनसम्बन्धी समूहको मूल्य वृद्धि ९.३ प्रतिशत थियो ।

च्यानल न्युज एसियाले पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा फिलिपिन्सको मुद्रास्फीति ४४ महिनायताकै उच्च तहमा पुगेको जनाएको छ । तेल आयातमा निर्भर फिलिपिन्समा इन्धन महँगिँदा यातायातदेखि विद्युत् उत्पादन र खाद्यान्न ढुवानीसम्मको लागत बढेको समाचारमा उल्लेख छ ।

प्याक्स सिलिका परियोजनाको विरोध किन ?

प्रदर्शनकारीले विरोध गरेको अर्को विषय अमेरिकी नेतृत्वको ‘प्याक्स सिलिका’ परियोजना हो । यो अमेरिकाले सुरु गरेको प्रविधि तथा आपूर्ति शृंखला सुरक्षासम्बन्धी पहल हो । यसको उद्देश्य कृत्रिम बौद्धिकता, सेमिकन्डक्टर, महत्त्वपूर्ण खनिज तथा प्रविधि उत्पादनका लागि आवश्यक आपूर्ति शृंखलालाई बलियो बनाउनु हो ।

फिलिपिन्स सन् २०२६ को अप्रिलमा यस पहलमा सहभागी भएको थियो । यसअन्तर्गत मनिलाबाट उत्तरतर्फ पर्ने तार्लाक प्रान्तको कापास क्षेत्रमा १ हजार ६१८ हेक्टरमा अर्धचालक उद्योग तथा खनिज प्रशोधनसम्बन्धी औद्योगिक केन्द्र निर्माण गर्ने योजना छ । यसमा अमेरिकी कम्पनीसहितका लगानीकर्ताले पूर्वाधार र औद्योगिक संरचनामा लगानी गर्ने अपेक्षा गरिएको छ ।

तर, परियोजनाका लागि छुट्याइएको क्षेत्रमा पुस्तौँदेखि बसोबास गर्दै आएका आदिवासी एएटा समुदाय र किसानको जमिन पर्ने भन्दै विरोध भइरहेको छ ।

कासिनोले रोयटर्ससँग परियोजनाले हजारौँ आदिवासीलाई विस्थापित गर्ने र वातावरणीय विनाश निम्त्याउने दाबी गरेका थिए ।

ह्युमन राइट्स वाचले नोभेम्बर १६ मा सार्वजनिक गरेको प्रतिवेदनमा परियोजनाका कारण तार्लाक प्रान्तका सयौँ आदिवासी र किसान विस्थापित हुन सक्ने जनाएको छ ।

प्रतिवेदनअनुसार प्रभावित क्षेत्रमध्ये एकमा एएटा हुङ्गे समुदाय बसोबास गर्दै आएको छ । उक्त समुदायले सन् १९९४ देखि आफ्नो पुर्ख्यौली भूमिको मान्यता माग्दै आएको भए पनि हालसम्म आधिकारिक स्वामित्व प्रमाणपत्र पाएको छैन ।

ह्युमन राइट्स वाचका अनुसार जुलाई २०२६ मा फिलिपिन्सको सरकारी निकाय बेसिस कन्भर्जन एन्ड डेभलपमेन्ट अथोरिटी (बीसीडीए) ले केही स्थानीयलाई उनीहरूको जमिन ‘न्यु क्लार्क सिटी’ परियोजनाबाट प्रभावित हुने पत्र पठाएको थियो । स्थानीयले आफ्नो जमिन नापजाँच गरिएको र स्थानान्तरण हुनुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कासिनोले यसैलाई आधार बनाएर आदिवासीको भूमि र वातावरण संरक्षणको मुद्दा उठाएका हुन् ।

सरकार भन्छ : आदिवासीको पुर्ख्यौली क्षेत्रबाहिर परियोजना

परियोजनाबारे उठेका चिन्तालाई फिलिपिन्स सरकारले भने अस्वीकार गरेको छ । फिलिपिन्स सूचना एजेन्सीमा अगस्ट १० मा प्रकाशित बीसीडीएको स्पष्टीकरणअनुसार परियोजनामा ठूलो तथ्यांक केन्द्र निर्माण गर्ने योजना छैन । त्यहाँ अर्धचालक उत्पादन र उन्नत औद्योगिक संरचना विकास गरिने सरकारी अधिकारीहरूको भनाइ छ ।

बीसीडीएका प्रमुख कार्यकारी जोसुवा बिङकाङले प्रस्तावित परियोजना आदिवासी समुदायको आधिकारिक पुर्ख्यौली भूमिबाहिर रहेको बताएका छन् । प्रभावित हुन सक्ने परिवारलाई रोजगारी तथा जीविकोपार्जनका कार्यक्रममार्फत सहयोग गरिने पनि उनको भनाइ छ ।

सरकारी निकायले परियोजना क्षेत्र क्लार्क आर्थिक तथा विशेष आर्थिक क्षेत्रको ३५ हजार ३०० हेक्टर क्षेत्रफलको ४.६ प्रतिशत मात्रै रहेको जनाएको छ । पानीको आवश्यकता समुदायको विद्यमान आपूर्तिबाट पूरा नगरी सतही पानी सङ्कलन, भण्डारण, प्रशोधन र पुनःप्रयोगबाट व्यवस्थापन गर्ने योजना रहेको पनि सरकारको दाबी छ ।

ट्रम्प आज मनिला पुग्ने कार्यक्रम

४९औँ आसियान शिखर सम्मेलन नोभेम्बर १५ देखि १७ सम्म मनिलामा भइरहेको छ । फिलिपिन्स समाचार एजेन्सीका अनुसार ट्रम्प नोभेम्बर १७ मा मनिला पुगेर आसियान-अमेरिका विशेष सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । उनले फिलिपिन्सका राष्ट्रपति मार्कोससँग नोभेम्बर १८ मा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

ट्रम्पको भ्रमणलाई लिएर विभिन्न विद्यार्थी, श्रमिक तथा सामाजिक अभियानमा संलग्न समूहले विरोध कार्यक्रम घोषणा गरेका छन् । आज पनि मनिलामा थप प्रदर्शन हुने तयारी छ ।

जीएमए न्युजका अनुसार मंगलबार ट्रम्पविरुद्धको र्‍यालीमा करिब १० हजार मानिस सहभागी हुने अनुमान गरिएको थियो । सोही दिन लिवासाङ बोनिफासियो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच फेरि झडप भएको र ११ जना पक्राउ परेको समाचारमा उल्लेख छ ।

ट्रम्पको भ्रमण, इरान युद्धको आर्थिक असर र प्याक्स सिलिका परियोजनाले निम्त्याउन सक्ने सामाजिक तथा वातावरणीय प्रभावका विषय अहिले फिलिपिन्समा विरोधका मुख्य मुद्दा बनेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो । कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने ...
। युरोपका पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले रुवान्डामा ‘रिटर्न हब’ स्थापना गर्ने घोषणा गरेका हुन् । यसलाई सन् २०२७ देखि सञ्चालनमा ल्याउने र पहिलो चरणमा एक सय आप्रवासीलाई त्यहाँ पठाइने बीबीसीले जनाएको छ । कूटनीतिक स्रोतलाई उद्धृत गर्दै ...
। अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकाका हजारौं ग्राहकहरुले सोमबार बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेको गुनासो गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको ‘सफ्टवेयर बग’ का कारण समस्या उत्पन्न भएको हुनसक्ने जनाएको छ ...
: पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च ...