: न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ ।
न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको समीक्षाले विशेषगरी मान्यता प्राप्त रोजगारदाता वर्क भिसा (एक्रिडिटेड एम्प्लोयर वर्क भिसा–एईडब्लुभी) सम्बन्धी केही निर्णयमा अध्यागमन कर्मचारीबाट आवेदकको वास्तविक मनसाय र भिसा अवधि सकिएपछि देश छाड्ने सम्भावनाबारे पर्याप्त मूल्यांकन नभएको देखिएपछि सरकारले थप जाँच गरेर मात्र भिसा जारी गर्न कर्मचारीलाई निर्देशन दिएको हो ।
एक पटक वर्क भिसा लागेर न्युजिल्यान्ड आइसकेपछि पुन दोस्रो पटक भिसा लगाउँदा भिसा लाग्ने सम्भावना नरहेपछि धेरैले आफ्नो देशमा फर्कने वातावरण नभएको, आर्थिक अवस्था कमजोर भएको, आफ्ना बालबालिकालाई दैनिक खुवाउन तथा शिक्षा, स्वास्थ्यमा गम्भीर समस्या पर्नेलगायतका विभिन्न बाहना बनाएर शरणार्थी भिसा माग गर्नेहरूको संख्या बढ्न थालेपछि सरकारले वर्क भिसा वितरणमा कडाइ गर्न लागेको हो ।
न्युजिल्यान्डमा कृषि फार्म (फलफूल, तरकारी), गाई फार्म, होटल तथा रेस्टुरन्ट, टुरिजमलगायतका क्षेत्रबाट नेपाललगायत विभिन्न मुलुकका नागरिक वर्क भिसा लगाएर आउने गरेका छन् । धेरैजसो नेपालीहरू भने तेस्रो मुलुकहरू भारत, मलेसिया, कोरिया, साउदी, दुबई, कतार, कुबेत, बेलायतलगायतका देशबाट वर्क भिसा लगाएर आउने गरेका छन् । त्यसरी अन्य मुलुकबाट वर्क भिसा लगाउँदा उनीहरूले त्यहाँ गरेको कामलाई आफ्नो अनुभव तथा योग्यताको रूपमा डकुमेन्ट पेस गर्ने गरेको पाइन्छ ।
इमिग्रेसन न्युजिल्यान्ड (आईएनजेड) ले ३० अक्टोबर २०२६ मा जारी गरेको आन्तरिक मार्गदर्शनमार्फत कर्मचारीलाई वर्क भिसा आवेदनको समग्र पृष्ठभूमि, व्यक्तिगत विवरण र जोखिमका सम्भावित संकेतहरूका बारेमा थप गम्भीरतापूर्वक जाँच गरेपछि मात्र भिसा जारी भनेको छ।
इमिग्रेसनबाट यसअघि आवेदनको मूल्यांकन गर्दा रोजगार प्रस्ताव वास्तविक छ कि छैन तथा आवेदकसँग आवश्यक सीप र अनुभव छ कि छैन भन्ने विषयलाई बढी प्राथमिकता दिँदै सोहीअनुसार भिसा जारी गर्ने गरेको थियो । तर, अब यसका साथै आवेदकको व्यक्तिगत अवस्था, न्युजिल्यान्ड आउनुको उद्देश्य, भिसाका सर्त पालना गर्ने सम्भावना र थप भिसा नपाएको अवस्थामा अपनाउने सम्भावित योजनासमेत मूल्यांकन गर्नुपर्ने विभागले जनाएको छ।
साथै नयाँ निर्देशन अनुसार अध्यागमन अधिकृतले आवेदकको गृहदेशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई समेत ध्यान दिनुपर्नेछ। विशेषगरी युद्ध, द्वन्द्व, आर्थिक कठिनाइ, धार्मिक वा लैंगिक उत्पीडनजस्ता कारणले आवेदकलाई स्वदेश फर्कन कतिको कठिन हुन सक्छ, स्वदेश फर्कन नसकेको अवस्था के गर्ने भन्ने विषयमा समेत बडो चासोका साथ अध्ययन गर्नेछन् ।
साथै सम्बन्धित देशबाट विगतमा शरणार्थी तथा संरक्षणको मान्यता माग्दै गरिएका आवेदनको प्रवृत्ति र हालका आवेदकको व्यक्तिगत परिस्थिति र ती दाबीसँग आवेदकको निवेदनले मेल खान्छ कि खाँदैन भन्ने विषयमा पनि अध्यागमन कर्मचारीबाट अनुसन्धान हुनु पर्नेछ ।
त्यसैगरी, विभागले आवेदकको विगतको यात्रा विवरण र अन्य देशमा बसोबास गर्दाको अध्यागमन इतिहास जाँच्न पनि निर्देशन दिएको छ। यसअघि अन्य मुलुकमा भिसा लिएर बस्दा सम्बन्धित सर्त पालना गरेको थियो वा थिएन, भिसा अवधि सकिएपछि स्वदेश फर्किएको थियो कि थिएन र कुनै अध्यागमन नियम उल्लघंन गरेको इतिहास छ कि छैन भन्ने विषयलाई समेत मूल्यांकनको आधार बनाइएको छ । न्युजिल्यान्डको अध्यागमन नियमअनुसार अस्थायी भिसाका आवेदकले आफूले आवेदन दिएको भिसाको उद्देश्यअनुसार वास्तविक रूपमा बस्न र काम गर्न चाहेको प्रमाणित गर्नुपर्छ।