: सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित मिथ्या तथा भ्रामक सूचना प्रकाशन एवं प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पक्राउ पर्नेमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन्।
प्रहरीले पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाता र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रमपूर्ण सूचना पोस्ट गरेको जनाएको छ। उनीहरूले प्रहरीबाट पक्राउ नै नगरिएको व्यक्तिलाई 'पक्राउ गरिएको' भन्दै सामाजिक सञ्जालमार्फत गलत प्रचार गरी सर्वसाधारणमा भ्रम छर्ने र प्रहरीको कामकारबाहीप्रति अन्योल सिर्जना गर्ने कार्य गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले विज्ञप्तिमा यस्ता अपुष्ट र भ्रामक सामग्रीले सार्वजनिक शान्ति, सामाजिक सद्भाव र नागरिकको सूचनाको हकमा नकारात्मक असर पार्ने उल्लेख छ। उनले प्रहरीसँग सम्बन्धित कुनै पनि घटना, पक्राउ, अनुसन्धान तथा कारबाहीका विषयमा आधिकारिक जानकारी प्राप्त नगरी मिथ्या, भ्रामक तथा अपुष्ट सूचना प्रकाशन, प्रसारण, शेयर वा पुनःप्रसारण नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेका छन्। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।