मुख्य समाचार
नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’
नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

— तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा निर्माणाधीन सडकतर्फ नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो।

कार्यक्रममा पूर्वाधारमन्त्री सुनिल लम्साल र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

यसअघि निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किलोमिटर लामो सुरुङको भदौ दोस्रो साता ब्रेक थ्रु भएको थियो। उक्त सुरुङ नेपालको सबैभन्दा लामो सुरुङ रहेको सहायक रथी एवं सैनिक प्रवक्ता राजाराम बस्नेतले बताएका थिए।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल दूरी ७०.९७७ किलोमिटर छ। यसमध्ये सुरुङको कुल दूरी ११.२ किलोमिटर छ।

द्रुतमार्गमा निर्माणाधीन सातवटा सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ। अहिले ती सुरुङमा फिनिसिङको काम भइरहेको छ। धेद्रे सुरुङको दूरी १ हजार ६ सय ९१ मिटर र लेनडाँडाको १ हजार ६ सय २३ मिटर छ।

चन्द्रामभीर सुरुङको दूरी २ हजार २ सय ३७ मिटर छ। यसमा ७ सय ८० मिटर खनिसकिएको छ। ५ सय २० मिटरको सिसौटार सुरुङमा ५३ मिटर र १ हजार ८७ मिटरको देवीचौर सुरुङमा १ सय २३ मिटर खनिएको सेनाले जनाएको छ। ५ सय ८३ मिटरको मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको छ।
निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको द्रुतमार्गको काम सुरु भएको नौ वर्ष पुगिसकेको छ। तर आयोजनाको भौतिक प्रगति अझै आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रुख कटानको काम समयमै टुंगिन नसक्दा आयोजना सम्पन्न हुने समय पटक-पटक सर्दै आएको छ।

सेनालाई २७ साउन २०७४ मा निर्माणको जिम्मा दिइएको यो आयोजना मंसिर २०८१ मै सम्पन्न हुनुपर्ने थियो। काम नसकिएपछि पहिलो पटक चैत २०८३ सम्म म्याद थपिएको थियो। पछिल्लो पटक चैत २०८६ सम्म म्याद थपिएको छ।

खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण, आयोजनाको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय हुन बाँकी छ। यस क्षेत्रमा डीपीआरबमोजिम मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ।

द्रुतमार्गमा पर्ने ८९ पुलमध्ये ८५ वटाको ठेक्का भएर काम भइरहेको छ। खोकना खण्डका चारवटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन भने पाँचवटा पुल निर्माण भइसकेका छन्। आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन्।

समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ। गत भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा निर्माणाधीन सडकतर्फ नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो। कार्यक्रममा पूर्वाधारमन्त्री सुनिल लम्साल र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक ...
— नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न तथा त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै ...
। सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा ...
: सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित मिथ्या तथा भ्रामक सूचना प्रकाशन एवं प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पक्राउ पर्नेमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन्। प्रहरीले पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाता र ...
। रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो। गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो ...