। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् ।
पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ बस्ने ६० वर्षीय निरबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका वाइबालाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा ईसीजी परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङ घाइते भएकी छन् । उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ ।
उनको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा घर भएका ५० वर्षीय रमेश प्रसाईंलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।