। नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृतिप्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय ९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमतिप्राप्त गरेको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौता अन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ मा अनुमति दिएको हो ।
उक्त अनुमति अनुसार ५ सय ९४ मेगावाट विद्युत् १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मंसिर २०८३ देखि १ जेठ २०८४) सम्म आईएक्समा बिक्री गर्न सकिने छ ।
अनुमतिप्राप्त परिमाणमध्ये २ सय ५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन मार्फत तथा ३ सय ८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन मार्फत आईएक्समा बिक्री गरिने छ ।
नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौता अनुसार विद्युत् निर्यात गर्ने अवधि ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।
मध्यकालीन सम्झौता अन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणबाट निर्यातयोग्य आयोजनाहरूको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पेस गरिएको थियो । त्यसपछि स्वीकृतिका लागि निरन्तर पहल तथा फलोअप हुँदै आएको थियो ।
सोही प्रक्रिया अन्तर्गत हाल ५ सय ९४ मेगावाट आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए ।
उनका अनुसार एनभीभीएन मार्फत ३ सय ८९ मेगावाट र पीटीसी मार्फत २ सय ५ मेगावाट आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।
प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यसैगरी द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतका हरियाणा तथा बिहार र बंगलादेश निर्यात हुँदै आएको छ ।
थप २१ मेगावाट निर्यात स्वीकृति
भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
सेतीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ (२ मंसिर २०८३ देखि १५ भदौ २०८४) सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।
यससँगै हालसम्म नेपालबाट भारततर्फ कुल १ हजार १ सय ९८ मेगावाट निर्यातका लागि अनुमति प्राप्त भएको छ । त्यस्तै आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ ।