मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग

— सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन् । उनीहरूले शोषणको परिभाषामा बालबालिकामाथि हुने श्रम शोषण, बाध्यकारी श्रम तथा अन्य शोषणका स्वरूपसमेत स्पष्ट रूपमा समेट्न प्रस्ताव गरेका हुन् ।

महिला तथा सामाजिक मामिला समितिमा बिहीबार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले ‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलालाई सामाजिक कलङ्क र विभेदको भार बोकाउने भन्दै त्यसको सट्टा ‘जबर्जस्ती यौन व्यवसाय’, ‘देहव्यापार’ र ‘यौन शोषण’ जस्ता वैकल्पिक शब्द प्रयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

संशोधनकर्ता इन्दिरा राना मगरले विधेयकमा रहेको ‘वेश्यावृत्तिमा लगाउने’ भन्ने शब्दावलीको सट्टा ‘जबर्जस्ती यौन व्यवसायमा’ भन्ने शब्द राख्न प्रस्ताव गरेकी छन् । गरिबी, भौगोलिक अवस्था र चेतनाको अभावको फाइदा उठाउँदै महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाइने गरेको उल्लेख गर्दै उनले उद्धार तथा पुनःस्थापनापछि पनि पीडित महिला र उनीहरूका पुस्ताले सामाजिक कलङ्क बोक्नुपर्ने अवस्था रहेको बताइन् ।

विभिन्न देशबाट उद्धार गरेर ल्याइएका महिलाले समेत जीवनभर उक्त शब्दसँग जोडिएको सामाजिक कलङ्क भोग्नुपरेको उल्लेख गर्दै उनले बाध्यतामा यौन व्यवसायमा लगाइएका महिलालाई सम्बोधन गर्दा ‘वेश्यावृत्ति’ शब्द प्रयोग गर्न नहुने बताइन् ।

त्यस्तै, सांसद मनमाया विश्वकर्माले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘देहव्यापार’ राख्न संशोधन प्रस्ताव गरिन् । उक्त शब्दले लैङ्गिक रूपमा महिलालाई मात्र बढी सङ्केत गर्ने र महिलामाथि दुव्र्यवहार तथा शोषणको अवस्था सिर्जना गर्ने उनको भनाइ थियो । कानुनले सबैलाई समान रूपमा सम्बोधन गर्नुपर्ने भएकाले लैङ्गिक रूपमा एउटै समूहलाई लक्षित गर्ने शब्द हटाउनुपर्ने उनले बताइन् ।

सांसद गणेशबहादुर विश्वकर्माले भने ‘वेश्यावृत्ति’ वा ‘यौन कार्य’ का रूपमा नभई ‘यौन शोषण’ का रूपमा परिभाषित गर्नुपर्ने प्रस्ताव गरिन् । विशेषगरी दलित समुदायका बादी महिलामाथि हुने शोषणलाई यौन व्यवसाय वा वेश्यावृत्तिका रूपमा व्याख्या गर्न नहुने भन्दै उनले त्यसलाई यौन शोषणका रूपमा कानुनमा समेट्नुपर्ने बताइन् ।

उनले शोषणको परिभाषामा दास तुल्याउने, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाधा बनाउने, श्रम शोषण गर्ने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, मानव तन्तुको बेचबिखन गर्ने तथा जबर्जस्ती श्रममा लगाउने कार्य समेट्न प्रस्ताव गरिन् । साथै, आक्रमण, धम्की, कैद वा अन्य मानसिक तथा शारीरिक दबाबमार्फत व्यक्तिको स्वतन्त्र इच्छाविपरीत काममा लगाउने अवस्थालाई समेटेर बाध्यकारी श्रमको छुट्टै परिभाषा राख्नुपर्ने उनको प्रस्ताव थियो । कमैया, कमलरी, हलिया, हरुवाचरुवा र झुमा प्रथाबाट हुने श्रम शोषणलाई समेत त्यस परिभाषामा समेट्नुपर्ने उनले बताइन् ।

सांसद पार्वती विकले शोषणको परिभाषामा बालबालिकामाथि हुने जबर्जस्ती श्रम शोषण स्पष्ट रूपमा समेट्नुपर्ने बताइन् । विधेयकमा शोषणको परिभाषा उल्लेख भए पनि बालबालिकामाथि हुने श्रम शोषण छुटेको उल्लेख गर्दै उनले ‘वेश्यावृत्तिमा लगाउने’ भन्ने शब्दावलीपछि बालबालिकामाथि हुने जबर्जस्ती श्रम शोषणलाई समेट्ने वाक्यांश थप्न प्रस्ताव गरिन् । उनले ‘वेश्यावृत्ति’ शब्दले विगतमा एउटा समुदायलाई अपमानित गर्ने गरी प्रयोग भएको र त्यसको सामाजिक प्रभाव अहिले पनि कायम रहेको उदाहरण दिँदै कानुनमा प्रयोग हुने शब्दले समाजमा पार्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने धारणा राखिन् । कानुनमा लेखिएका शब्दले कार्यान्वयन गर्ने निकाय र समाजमा फरक प्रभाव पार्न सक्ने भएकाले उक्त शब्द हटाउनुपर्ने उनको भनाइ थियो ।

सांसद भूमिका श्रेष्ठले पनि ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली प्रयोग गर्नुपर्ने बताइन् । संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिला, पुरुष तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैको गरिमालाई कानुनको भाषाले सम्मान गर्नुपर्ने बताइन् ।

यौनजन्य कार्यमा संलग्न व्यक्तिलाई सुरुदेखि नै नकारात्मक पहिचान दिने शब्द प्रयोग गर्न नहुने भन्दै उनले ‘यौन व्यवसाय’ वा ‘यौनजन्य कार्यमा संलग्न व्यक्ति’ जस्ता उपयुक्त शब्दावली प्रयोग गर्नुपर्ने धारणा राखिन् । उनले स्वेच्छाले यौन व्यवसायमा संलग्न हुने अवस्था र बाध्यतामा पारेर यौनजन्य गतिविधिमा लगाइने अवस्थालाई फरक रूपमा बुझ्नुपर्नेमा जोड दिइन् । जबर्जस्ती, शोषण र बाध्यताको अवस्थालाई छुट्टै सम्बोधन गर्ने शब्दावली कानुनमा आवश्यक रहेको उनको भनाइ थियो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३ को उपदफा ४ को खण्ड (ङ) मा ‘शोषण’ भन्नाले दास वा बाँधा बनाउने वा त्यस्तो हैसियतमा राख्ने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य कुनै माध्यम प्रयोग गरी वा नगरी यौन शोषण गर्ने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा जबरजस्ती श्रममा लगाउने कार्य सम्झनु पर्छ भन्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ लाई हिमालको आवाज सुनिएको सम्मेलन बनाउन आग्रह गरेकी छन् । टर्कीएको आन्ताल्यामा जारी कोप–३१ मा समापन मन्तव्य दिंदै उनले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म उत्तिकै रहेको बताएकी हुन् । ठूलो जनधनको क्षति गरेको रसुवा बाढीपछि पुनःस्थापनाका लागि चाहिने ५ अर्ब अमेरिकी डलरका लागि स्रोत जुटाउन संघर्ष गर्नुपरेको मन्त्री ...
। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको बताए । ‘यो सरकारले सबैभन्दा बढी ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् । दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र हतासाको मनोविज्ञान बढेको भन्दै त्यसबाट मुक्त भएर अगाडि जानुपर्ने बताएका हुन् । ‘हामी युद्ध मोर्चा होस्, चुनावी मोर्चामा जितेको बेला विपक्षलाई एकदम कमजोर ठान्दिने, ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले २३–२४ भदौ २०८२ को घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए । ‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो । ...
। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका छन् । राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् । विगतका चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य संभव नहुँदा पराजय बेहोर्नु परेको उनले बताएका छन् । ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा ...