: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधीले पार्टीको विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधीले १५औं महाधिवेशन मङ्सिर २१,२२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान,देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन्।
महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको तथा बाँकी क्रममा रहेको उनले बताए। त्यस्तै नेता निधिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुर देखि अयोध्यासम्मको रेल सेवा नियमित रूपमा सञ्चालन गर्न तथा जनकपुरमा हवाई सेवा सुरु गर्न पहल हुनुपर्ने बताए।
भ्रमणका क्रममा नेपालको आर्थिक विकास,सीमा,यातायात र अन्य सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने विश्वास रहेको उनको भनाइ छ ।