मुख्य समाचार
इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी
इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी

। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गरे ।

“हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था । युद्धको विषय एक पटक र सधैँका लागि टुङ्ग्याउनेछौँ । यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ”, उनले भने।

बाह्र दिने युद्धपछि इरानले हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाएको र स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेको उनले जानकारी दिए । ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उनको दाबी छ । इरानले चार हजार ५०० किलोमिटरसम्मको क्षेप्यास्त्र पहुँच प्रदर्शन गरिसकेको उल्लेख गर्दै उनले अमेरिकी सैन्य अखडालाई आवश्यक परे लक्षित गर्न सक्ने बताए।


मोहेबीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र पर्सियन खाडीमा अमेरिकी नौसैनिक उपस्थितिमा कमी आएको दाबी गरे । उनका अनुसार युद्धअघि खाडीमा करिब ४० अमेरिकी युद्धपोत रहेकामा अहिले कुनै पनि छैनन् । अमेरिकी विमानवाहक जहाज तथा अन्य युद्धपोतलाई क्षेत्रबाट ५०० देखि ७०० किलोमिटर टाढा राखिएको उनले बताए। अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको भण्डारमा समेत कमी आएको उनको भनाइ छ ।

अमेरिकाले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई इरानले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले अमेरिकी सैनिक तैनाथी, विमान गतिविधि र सैन्य योजनामाथि निगरानी भइरहेको बताए। “हाम्रोविरुद्ध शत्रुले जस्तोसुकै कारबाही गरे पनि त्यसको जवाफ कम्तीमा तीन गुणा बढी हुनेछ”, उनले चेतावनी दिए।

इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि देश प्रतिशोधको निशानामा पर्न सक्ने उनले बताए। इरानी बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको पनि जवाफ दिइने उनको भनाइ छ । अमेरिकाले स्थल आक्रमण वा हेलिकप्टरमार्फत छापा मार्ने सम्भावनालाई समेत उनले अस्वीकार गरे।

यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि इरानले इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र र ड्रोनबाट लक्षित गरेको थियो । अप्रिल ८ मा युद्धविराम लागू भए पनि त्यसपछि जुन १८ मा भएको समझदारीअनुसार आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी अन्तिम सम्झौताका लागि तय गरिएको वार्तामा प्रगति हुन सकेको छैन । बढ्दो तनावका बीच इरानले अहिलेको अवस्थालाई स्थायी शान्तिका रूपमा नलिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो । ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले ऐतिहासिक त्रिपक्षीय वार्तापछि संयुक्त ‘शान्ति घोषणा’ जारी गरेका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा चीनको दक्षिणपूर्वी सहर सेनझेनमा तीन नेताबीच ९० मिनेट वार्ता भएपछि संयुक्त ‘शान्ति घोषणा’ जारी भएको बीबीसीले जनाएको छ । यी तीन नेताबीच यसअघि छुट्टाछुट्टै भेटवार्ता भए ...
। युक्रेनमाथि रुसले गरिरहेको आक्रमण अन्त्य गर्ने उद्देश्यले रुससँग वार्ता गर्न तयार रहेको युरोपेली नेताहरूले बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा युक्रेनका सहयोगी राष्ट्रहरूको समूह ‘कोलिसन अफ द विलिङ’ को शिखर सम्मेलनमा उनीहरूले सो घोषणा गरेको बीबीसीले जनाएको छ । युरोपेली नेताहरुले युक्रेनको पक्षमा एकजुट समर्थन जनाउँदै वार्ताका लागि युरोपको स्पष्ट र साझा धारणा रहेको बताएका छन् ...
: मलेसियाले आगामी सन् २०२७ जनवरी १ देखि भारतीय नागरिकहरूलाई दिँदै आएको 'भिसा फ्री' (बिनाभिसा प्रवेश) सुविधा खारेज गर्ने भएको छ । यो निर्णय लागू भएसँगै मलेसिया भ्रमण गर्ने सबै भारतीय राहदानीवाहकहरूले यात्रा गर्नुअघि अनिवार्य रूपमा भिसा लिनुपर्नेछ ।यसअघि मलेसियाले भारतीय नागरिकहरूलाई बिनाभिसा देश प्रवेशको अनुमति दिँदै आएको थियो । उक्त सुविधाअन्तर्गत भारतीय नागरिकहरू पर्यटन, ...
। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो । ...