मुख्य समाचार
बंगलादेशमा राजनीतिक तनाव र हिंसा पुनः चर्किए
बंगलादेशमा राजनीतिक तनाव र हिंसा पुनः चर्किए

। बङ्गलादेशमा हिंसा-प्रतिहिंसाको शृङ्खला चलिरहेको छ । नराइल जिल्लामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता, कार्यकर्ता र समर्थकका करिब ५० घर तथा पसलमा आगजनी गरिएको छ।

शुक्रबार कालिया उपजिल्लाको बेन्दर चार गाउँमा यो घटना भएको हो। स्थानीयका अनुसार शुक्रबार दिउँसोदेखि सुरु भएको आक्रमण राति अबेरसम्म जारी रह्यो। आक्रमणकारीहरूले कैयौँ घरमा तोडफोड गर्नुका साथै त्यहाँ रहेका फर्निचर, बहुमूल्य सामान र अन्य सामग्री लुटपाट गरेका छन्।

पूर्वप्रधानमन्त्री शेख हसिनाले देश फर्कने घोषणा गरेयता बङ्गलादेशमा तनाव बढेको छ। केही दिनअघि भएको हिंसामा प्रधानमन्त्री तारिक रहमानको पार्टी बीएनपीका दुई नेताको हत्या भएको थियो।

पूर्वसांसद र मेयरका घरमा पनि आक्रमण


अवामी लिगका पूर्वसांसदका अलावा पूर्वमेयर र पार्टीसँग आबद्ध ठूला नेताहरूका घरलाई पनि निसाना बनाइएको छ। स्थानीयले यी आक्रमणका लागि प्रधानमन्त्री तारिक रहमानको पार्टी बीएनपीका कार्यकर्तालाई जिम्मेवार ठहराएका छन्। यद्यपि, आरोपितहरूको पहिचान हुन सकेको छैन।

अग्नि नियन्त्रण सेवाका अनुसार शुक्रबार साँझ कैयौँ घरमा आगलागी भएको सूचना प्राप्त भएको थियो। केही व्यक्तिले बाटोमा रूख काटेर ढालिदिएका कारण दमकलका गाडीहरू ढिलो गरी घटनास्थलमा पुगेका थिए। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

१८ नोभेम्बरदेखि सुरु भएको थियो हिंसा

हिंसाको सुरुवात १८ नोभेम्बरको साँझबाट भएको थियो। उक्त दिन बेन्दर चार क्षेत्रमा बीएनपी कार्यकर्ताको मोटरसाइकल र्‍यालीमाथि आक्रमण भएको थियो। बीएनपीका अनुसार यो र्‍याली अवामी लिगका हिंसात्मक गतिविधिको विरोधमा निकालिएको थियो।

र्‍याली बेन्दर चार गाउँको वरको रूख भएको क्षेत्रमा पुग्नासाथ आक्रमण भएको थियो। यस क्रममा कैयौँ मोटरसाइकलमा समेत आगजनी गरिएको थियो। आक्रमणमा तीन जना घाइते भएका थिए, जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारका लागि खुलना लगिएको थियो।

सोही क्रममा दुवैको मृत्यु भयो। बीएनपीका नेता तथा कार्यकर्ताले यो आक्रमणका लागि अवामी लिगका सदस्यलाई जिम्मेवार ठहराएका थिए।

विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबीरको घरमा शुक्रबार पेट्रोल बम प्रहार गरी आगजनी गरिएको थियो। घटनाका बेला कबीर घरमा उपस्थित थिएनन्। यस घटनाको अनुसन्धान भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

कबीरले यस आक्रमणका लागि पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई जिम्मेवार ठहराएका छन्। उनले अवामी लिगलाई आतङ्कवादी सङ्गठनसमेत भनेका छन्।

अवामी लिगको बन्द आह्वानबीच कैयौँ स्थानमा आगजनी

शेख हसिनाको पार्टी अवामी लिगले १९ नोभेम्बरमा देशभर एकदिने बन्दको घोषणा गरेको थियो।

पार्टीले हसिनाको फिर्तीको माग गर्दै करिब एक सातासम्म प्रदर्शन र र्‍याली गरेपछि बन्द आह्वान गरेको हो। बन्दको सबैभन्दा बढी असर अवामी लिगको बलियो जनाधार रहेका दक्षिणी बङ्गलादेशका जिल्लाहरूमा देखियो।

यस क्रममा विभिन्न स्थानमा आगजनी, तोडफोड र आक्रमणका घटना भए । यसबीचमा, शेख हसिनाको गृह जिल्ला गोपालगन्जमा बीएनपीका दुई सांसदको घरमा तोडफोड र आगजनी गरियो। केही बजार र पसललाई पनि निसाना बनाइयो।

प्रहरीका अनुसार कम्तीमा ६ वटा बस र पिकअप गाडीमा आगो लगाइएको छ भने रेलमार्गको एक भागमा समेत क्षति पुर्‍याइएको छ। बिहीबार राजमार्गमा एउटा बस र ट्रकमा आगो लगाइयो। बसमा सवार सबै यात्रु सुरक्षित रूपमा बाहिर निस्कन सफल भए।

चटगाउँमा १८ नोभेम्बरको राति पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी गरिएको थियो।

डिसेम्बरमा देश फर्कन चाहन्छिन् हसिना

बङ्गलादेशमा सन् २०२४ को विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको थियो। त्यसपछि मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए र हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएका थिए।

अहिले तारिक रहमान बङ्गलादेशका प्रधानमन्त्री छन् र उनको सरकारले पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ।

हसिनाले जुलाई २०२६ मा डिसेम्बरमा बङ्गलादेश फर्कने र त्यहाँको अदालतमा कानुनी प्रक्रियाको सामना गर्ने इच्छा व्यक्त गरेकी थिइन्।

यसै महिना उनले जुनसुकै हालतमा डिसेम्बरमा फर्कने कुरा दोहोर्‍याएपछि देशमा राजनीतिक तनाव चुलिएको हो।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक बताएका छन् । आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि क्राइमिया पुलमा भएको आक्रमणको बदला ...
इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले आफ्नो देश कुनै पनि सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले इरान युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट ...
। रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणमा २७ वटा ब्यालिस्टिक मिसाइलसमेत प्रयोग गरेको बताएका छन्। उनले यसलाई युद्धकै सबैभन्दा ठूला आक्रमणमध्ये एक भनेका छन्। आक्रमणबाट ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः जिम्मेवारीमा फर्कने अवसर दिनुपर्ने बताएका छन् । ट्रम्पले हुआङ प्रतिभाशाली व्यक्ति भएको उल्लेख गर्दै उनको व्यक्तिगत र व्यावसायिक जीवनलाई अलग-अलग रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले हुआङलाई दोस्रो मौका दिनुपर्ने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत कुराकानी गरेको र जिनपिङले पनि त्यसमा ...
रुसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले युक्रेनलाई नेटो सदस्यता दिने कुरा रुसका लागि स्वीकार्य नहुने बताएका छन् । रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार गर्नुपर्ने उनले धारणा राखे । सर्गेईले रुस संवादका लागि तयार रहेको उल्लेख गर्दै युक्रेनको नेटो सदस्यताको विषयमा भने कुनै सम्झौता हुन ...