: नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीको समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नका लागि डेस्क स्थापना गरेको जनाएको हो।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म लिंक पठाएका थिए।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको मुख्य उद्देश्य नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीहरूको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी महानिरीक्षक केसीले उद्घाटनपश्चात आधारभूत तहका प्रहरी कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा विविध गुनासाहरूको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा कार्य गर्न केन्द्रीय गुनासो डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका थिए।