मुख्य समाचार
स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा
स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा

। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् ।

संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भएको आरोप समेत उनको थियो ।

शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने बताए ।

‘निर्वाचनको सन्दर्भमा स्थानीय र प्रदेश सरकारको कार्यकाल तथा निर्वाचन संविधान र प्रचलित कानुनअनुसार हुनुपर्ने धारणा राखिएको छ । स्थानीय तहको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेश सरकारको कार्यकाल मङ्सिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा जोड दिइएको छ,’ प्रचण्डले भनेका छन्, ‘निर्वाचनको नाममा संविधान र कानुन मिच्ने प्रयासले देशमा थप राजनीतिक संकट निम्त्याउन सक्ने भएकाले सबै राजनीतिक दल जिम्मेवार र सचेत हुन आवश्यक छ । लोकतान्त्रिक व्यवस्था, संविधान र कानुनी शासनको रक्षा गर्दै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।’


निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको बताए ।

केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषय उठेको भएपनि संविधान र कानूनको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उनको भनाइ थियो ।

दाहालले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने उनले बताए ।

स्थानीय र प्रदेश सरकारलाई संविधान तथा कानुनले दिएको पाँचवर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने उनको भनाइ छ । संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी पनि उनको थियो । एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए त्यसले अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठाउने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्नसक्ने उनको भनाइ छ ।

निर्वाचन आयोगमा भएको छलफलमा आफूहरूले संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर जान नहुने धारणा राखेको उनले बताए । आयोगले पनि स्थानीय र प्रदेश सभाको निर्वाचन दुईपटक नै गर्नु संविधान र कानुनसम्मत हुने विषयमा स्पष्ट धारणा राखेको दाहालको भनाइ छ ।

आगामी राजनीतिक प्रतिष्पर्धा भाषण र आमसभामा मात्र सिमित नरहने भन्दै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताए । एआई र सूचना प्रविधिमा पछाडि पर्ने राजनीतिक शक्ति निर्वाचनदेखि राष्ट्रिय प्रतिष्पर्धासम्म कमजोर हुनसक्ने उनको तर्क छ ।

‘आजको राजनीतिक प्रतिस्पर्धा आमसभामा भाषण गर्नमा मात्र सीमित छैन। डिजिटल प्रविधि, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण भइसकेको छ । त्यसैले पार्टीले आईटीको प्रयोगलाई संस्थागत र व्यापक बनाउँदै जनतासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहललाई समेत विस्तार गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको ...
। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन् । उनले कुनैपनि सरकारले ...
। काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा राष्ट्रपति पौडेल शनिबार सहभागी भएका हुन् । उनी प्रथम महिला सविता पौडेलसहित महायज्ञमा सहभागी भएका थिए । आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनका अनुसार, तत्कालीन प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री हुँदासाथ पहिलो काम नै मनपरी ढंगबाट गरेको ...
। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी ...