: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा एमालेको 'नेसनल भोलेन्टियर फोर्स' को पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले तत्कालीन सरकारको सिफारिसमा असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेर राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर बनाएको बताएका हुन् ।
उनले प्रधानन्यायाधीश भइसकेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डराएर संसद् विघटन गरेको आरोप लगाए । अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दा फैसला नगरी चुप लागेर बसेको समेत बताए ।
उक्त मुद्दामा जस्तो फैसला आए पनि एमालेलाई स्वीकार्य हुने उनको भनाइ छ । उनले लोकतान्त्रिक संस्थाहरू संवैधानिक तवरले चल्न नसकेको उल्लेख गरे । अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक र आतङ्कपूर्ण आगजनी तथा तोडफोडबाट सुरु भएको उनले दाबी गरे । अध्यक्ष ओलीले देशभित्र कुनै पनि प्रकारका बेथिति हुन नदिन सचेत गराउने, बेथिति रोक्ने र रोकेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले रहर पूरा गर्न नभई विकट परिस्थितिमा तात्कालिक र दीर्घकालीन प्रतिवाद गर्ने हिसाबले नेसनल भोलेन्टियर फोर्स बनाइएको स्पष्ट पारे । अध्यक्ष ओलीले विकास निर्माण र उद्यमशीलतामा नमुना तथा दृष्टान्त बनेर अघि बढ्न र जनता वा देशलाई अप्ठ्यारो पर्दा साथमा उभिन भोलेन्टियर फोर्सलाई निर्देशन दिए ।