। भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो।
संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
यसअघि भूमि प्रशासन कार्यालयले पटकपटक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा संघ–संस्थाका कार्यालय बन्द गर्न आग्रह गरेको थियो । लेखापढी व्यवसाय खाली गर्न अटेरी गर्दै आएको थियो ।
यसैबीच, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियानलाई पनि तीव्रता दिएको छ।
कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार फुटपाथ खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि अटेर गरिएपछि नगरप्रहरी र डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउन थालिएको हो।
नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।