मुख्य समाचार
सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमण
सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमण

सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ ।

उक्त हमलाको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ ।

आइतबार बिहान भएका आक्रमणमा आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । सरकारी भवन र खार्तुम विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएपछि सुडानी सेनाले हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको थियो ।

सुडानमा जारी युद्धमा ड्रोनको प्रयोग बढ्दै गएपछि सर्वसाधारण नागरिक र मानवीय सहायता क्षेत्रमा काम गर्ने कर्मचारीको सुरक्षाबारे चिन्ता थपिएको छ ।


एएफपी समाचार एजेन्सीका अनुसार प्रत्यक्षदर्शीहरूले बिहान करिब २ बजेदेखि ४:३० बजेसम्म राजधानीका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनेका थिए । त्यस क्रममा सेनाले ड्रोन खसाल्ने प्रयास गरेको थियो ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक डेनिस ब्राउनले आइतबार राष्ट्रसंघको एउटा भवनमा क्षति पुगेको र त्यसबेला कर्मचारीहरू भवनभित्रै रहेको बताएकी छन् ।

आपत्कालीन मानवीय सहायता समन्वय गर्ने राष्ट्रसंघीय कार्यालयले सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा आफ्ना कर्मचारीमाथि भएको जोखिमको निन्दा गर्दै यसलाई अस्वीकार्य भनेको छ ।

सुडानी सेनाका एक स्रोतले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार ड्रोनहरू छिमेकी इथियोपियाको बाहिरदार विमानस्थलबाट प्रक्षेपण गरिएका थिए । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

इथियोपियाले यसअघि पनि आफ्नो भूमिबाट आरएसएफलाई आक्रमण गर्न अनुमति दिएको भन्ने सुडानको आरोप अस्वीकार गर्दै आएको छ ।

सुडानले इथियोपियाबाट ड्रोन आक्रमण भइरहेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अफ्रिकी संघमा समेत उजुरी दिएको छ ।

सैनिकको हत्या गरेको आरोप

यसैबीच, सुडान सरकारले आइतबार दक्षिणपूर्वी ब्लु नाइल राज्यमा आरएसएफका लडाकुहरूले पक्राउ परेका सैनिकको हत्या गरेको आरोप लगाएको छ । उक्त क्षेत्र इथियोपियाको सीमासँग जोडिएको छ ।

सरकारले ती सैनिकको हत्या अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको भन्दै निन्दा गरेको छ । यद्यपि, उक्त आरोप पनि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

पछिल्लो समय आरएसएफ र सुडानी सेना दुवैले एकअर्काका सैन्य निशानामा आक्रमण गर्न ड्रोनको प्रयोग बढाउँदै लगेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार यस वर्षको पहिलो छ महिनामा ड्रोन आक्रमणबाट एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म सुडानमा मारिएका वा घाइते भएका बालबालिकामध्ये करिब दुई तिहाइ ड्रोन आक्रमणका कारण प्रभावित भएका छन् ।

सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ । उक्त युद्धले विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटमध्ये एक निम्त्याएको छ । युद्धका कारण एक करोड ३० लाख मानिस विस्थापित भएका छन् भने केही क्षेत्रमा भोकमरीको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ । बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार एकता सरकार गठनसम्बन्धी वार्तामा सहभागी हुन विभिन्न सर्तसहितको आधिकारिक धारणा सार्वजनिक गरेको हो। पूर्वसैन्य प्रमुख गादी आइजेनकोटका नेतृत्वमा रहेको याशार पार्टीले शनिबार लिकुडलाई व्यापक ...
। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, उनले कम्तीमा एक ...
— यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो ...
— तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ । बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ । सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र ...