। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई तेस्रो मुलुकसँग आयात– निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको प्रतिनिधिमण्डलस्तीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेनलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरे ।
नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न मागेको थियो । यसअघि यी दुई देशबीच ती दुई बन्दरगाह प्रयोगको सहमति २०१९ मै भएको थियो । तर यसपटक ती दुई बन्दरगाहको अनुमति दिने विषयमा सहमति भएको चर्चा चलेको थियो । तर दुई देशबीच उही राज्यका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो ।
धाम्रा र मुन्द्रा दुवै बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्छ । तर अहिले अनुमति पाएका दुवै विमानस्थलको सञ्चालन भारत सरकारले नै गर्दै आएको छ ।
नेपालले हाल भारतको कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाहका रुपमा लिने गरेको छ । किनभने एउटै रुटका यी बन्दरगाहमध्ये कोलकातामा साना जहाज मात्रै आउँछन् भने हल्दियामा ठूला जहाज आउँछन् । त्यसबाहेक आन्द्रप्रदेशको विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकमा व्यापार गर्न पाउँछ ।
नेपालले यी तीनबाहेक अन्य बन्दरगाहको प्रयोग गर्न पाउने गरी लामो समयदेखि अनुमति मागिरहेको हो ।