। नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधारको विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्ताबेजमा सुशासनका क्षेत्रमा बहुआयामिक साझेदारी गर्ने उल्लेख गरिएको हो।
संयुक्त दस्ताबेजमा डिजिटल प्रविधिको अवलम्बन गर्दै नागरिक र सरकारबीचको अन्तरक्रियालाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा दुवै देशका प्राथमिकता र दृष्टिकोणमा उल्लेखनीय समानता रहेको जनाइएको छ।
सहमतिअनुसार नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच प्राविधिक विशेषज्ञता तथा असल अभ्यासहरू आदानप्रदान गरिनेछ। विश्वव्यापी रूपमा मान्यता प्राप्त डिजिटल सार्वभौमसत्ता र डेटा सुरक्षाका सिद्धान्तहरूअनुरूप डिजिटल परिचय, भुक्तानी प्रणाली र ई–गभर्नेन्सजस्ता डिजिटल सार्वजनिक पूर्वाधारका क्षेत्रमा सहकार्य अघि बढाइने दस्ताबेजमा उल्लेख छ।
यसैगरी, नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) मार्फत तालिमको व्यवस्था गरिने भएको छ।
भ्रमणका क्रममा भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा समेत हस्ताक्षर भइसकेको छ।
दस्ताबेजमा दुवै देशका सङ्घीय तथा प्रादेशिक तहका व्यवस्थापिकाहरूबीच अनुभव र असल संसदीय अभ्यासहरू आदानप्रदान गर्ने सहमति पनि समेटिएको छ।
साथै, स्थानीय शासनलाई थप सुदृढ बनाउन भारतका सम्बन्धित निकायहरूमा अध्ययन भ्रमण आदानप्रदान तथा विशेष तालिम कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।