। गुल्मी जिल्ला भर यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो वर्ष जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लालाई खोरेतमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यसहित जिल्लाभर खोरेत रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन भ्याक्सिनेटरहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका ९३ वटा वडामा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पशु स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रममा जिल्लाका १२ वटा स्थानीय तहका ९३ वडामा कार्यरत ८२ जना पशु स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा खोरेत रोगको जोखिम न्यूनीकरण, रोगको रोकथाम तथा नियन्त्रण, खोपको प्रभावकारी व्यवस्थापन र जिल्लालाई खोरेतमुक्त बनाउने अभियानका विषयमा जानकारी गराइएको थियो ।
अभिमुखीकरण कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा. भरत काफ्लेले पशुहरूमा लगाइने विभिन्न प्रकारका खोप, खोपको गुणस्तर, भण्डारण तथा व्यवस्थापन, सुरक्षित रूपमा खोप लगाउने विधि र प्रभावकारी खोप अभियान सञ्चालनका विषयमा प्राविधिक प्रशिक्षण प्रदान गरेका थिए । उनले पशुमा लाग्ने खोरेत रोगको कारण, लक्षण, संक्रमण फैलिने माध्यम, रोकथामका उपाय तथा रोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए ।
खोपको सही प्रयोग, उचित तापक्रममा भण्डारण, पशुको प्रजाति तथा अवस्थाअनुसार खोप लगाउने विधि र खोप लगाएपछि आवश्यक विवरण अभिलेखमा प्रविष्ट गर्ने प्रक्रियाबारे समेत प्रशिक्षण दिइएको थियो । कार्यक्रममा भ्याक्सिनेटरहरूलाई खोप अभिलेख व्यवस्थापन, रिपोर्टिङ प्रणाली, तथ्यांक संकलन तथा समुदायमा जनचेतना विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
खोप अभियानलाई सफल बनाउन प्राविधिक ज्ञानसँगै स्थानीय समुदायको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेको बताइएको थियो । गुल्मी जिल्लालाई खोरेतमुक्त बनाउने लक्ष्यका साथ यस वर्ष जिल्लाका १२ वटै स्थानीय तहका सम्पूर्ण खुरफट्टा जनावरलाई घरघरमै पुगेर खोप लगाउने तयारी गरिएको छ ।
गाई, भैँसी, भेडा, बाख्रा, सुँगुर तथा बंगुरलगायतका पशुमा खोरेत रोगविरुद्धको खोप लगाइनेछ । त्यसका लागि भ्याक्सिनेटरहरू परिचालन गरी वडा तथा गाउँस्तरसम्म खोप सेवा विस्तार गरिने जनाइएको छ ।